चन्द्रौटा, १२ जेठ। कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भइ घर फिर्ता भएका छन्। कपिलवस्तु अस्पतालमा कार्यरत् नर्स कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएको जनाउँदै सोमबार घर फिर्ता भएपछि जिल्लामा कोरोनाभाइरसलाई जितेर घर जानेको संख्या बढेको छ ।
गत वैशाख ३० गते पहिलोपटकको रिपोर्टमा ‘पोजिटिभ’ आएपछि नर्सलाई अस्पतालको ‘आइसोलेसन’मा राखिएको थियो। कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो। नर्स संक्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को ‘पीसीआर’ जाँच गर्दा ‘नेगेटिभ’ आएको थियो।
नर्सको क्रमशः दोस्रो र तेस्रोपटक यही जेठ १ र ४ गते दुईपटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। नेपालमै पहिलो स्वास्थ्यकर्मी संक्रमित भएर १४ दिनमै कोरोनालाई जित्न सफल भएको अस्पतालका डा. किशोर बञ्जाडेले बताए।
उनलाई थप एक साता ‘होम क्वारेन्टाइन’मा बस्न सुझाव दिइएको छ। शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीनरतीन र बुद्धभूमि नगरपालिकाका एकजनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो। कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना संक्रमण देखिएको छ। रासस



लोकपाटी न्यूज

