डा. केसी दार्चुलामा अनशन बस्ने

Dr. govinda kc
लोकपाटी न्यूज

काठमाडौं, १२ जेठ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी दार्चुलामा अनशन बस्ने भएका छन्। सीमा क्षेत्रका जनतालाई आधारभूत स्वास्थय सुविधा उपलब्ध गराउनु पर्ने लगायतका माग राखेर डा. केसी जेठ २० र २१ गते दार्चुलामा अनशन बस्न लागेका हुन्।

कोरोना भाइरसको महामारीका समयमा पनि नेपालमा भ्रष्टाचार, कुर्सी युद्ध जस्ता गतिविधि भएको भन्दै सरकारले सिमाञ्चलमा पुगेर त्यहाँका नागरिकको दुःख पीडा बुझ्ने कोसिस नगरेको उनले विज्ञप्तीमा उल्लेख गरका छन्। राज्यको रवैयाको परिणामका कारण सुदूरपश्चिमको दार्चुला लगायतका जिल्लाहरुमा आधारभूत स्वास्थ्य सेवाको समेत पहुँच नभएको उनले बताएका छन्।

साथै डा. केसीले आधारभूत स्वास्थ्य र शिक्षाको लागि सत्याग्रह बस्दा पनि सरकारले वेवास्ता गरेको आरोप लगाएका छन्। केसीले विज्ञप्तिमार्फत् जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएसलगायतका कार्यक्रम शुरु गर्न ध्यानाकर्षण गराएका छन्। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा विभिन्न सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न डा. केसीले माग गर्दै आएका छन्।

‘नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भूमि हडपेर सडक लगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं,’ डाक्टर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको सीमा रक्षा गर्नु राज्यको जिम्मेवारी हो, त्यसका लागि उसले छिमेकी राज्यसित कुटनीतिक प्रयास गर्नैपर्छ। भारतले नेपालको सीमा मिच्नु उसको समेत हितमा छैन भनेर बुझाउन सरकारले सक्नुपर्छ । दुवैतिरका सरकारहरुले राष्ट्रवादका नारा उछालिरहने अनि दुवैतिरका नागरिक भोक र रोगसित लडिरहनुपर्ने अहिलेको अवस्था मुठ्ठीभर शासकबाहेक कसैको पनि हितमा छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्