जनकपुर, १२ जेठ। वीरगञ्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक वृद्धको कोरोना संक्रमण पुष्टि भएको छ। रुघाखोकी र दमलगायत समस्याबाट पीडित वीरगन्ज १२ का ७० वर्षीयलाई उनका आफन्तले जेठ २ गते अस्पतालमा भर्ना गरेका थिए।
वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिएपछि चिकित्सकले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो। त्यसको दुई दिनपछि अर्थात् जेठ ४ गते उनको मृत्यु भएको थियो। वृद्धको उपचारका क्रममा कोरोना संक्रमणको लक्षण देखिएका आधारमा उनको पीसीआर जाँचका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो।
तर, उक्त जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भएपछि अस्पतालले सद्गतका लागि शव परिवारजनलाई जिम्मा लगाएको थियो । अन्त्येष्टि भएको एक सातापछि उनी संक्रमित भएको पुष्टि भएपछि उनका परिवारका सबै सदस्यलाई पीसीआर जाँच गर्ने तयारी भएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् । स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म यसबारे केही भनेको छैन।



लोकपाटी न्यूज

