उपत्यकामा नै किट अभाव

coronavirus-test-kiti
लोकपाटी न्यूज

भत्तपुर, ११ जेठ। काठमाडौं उपत्यकामै कोरोना परीक्षण गर्न किट अभाव भएको छ। किट अभावमा भक्तपुर अस्पतालले आइतबारदेखि सर्व साधारणको कोरोना परीक्षण बन्द गरेको जनाएको छ। भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले दुईतीन दिनदेखि नै अस्पतालमा किट अभाव भएको जानकारी दिए। उनका अनुसार आइतबारदेखि उच्च ज्वरो आई शंका लागेकालाई मात्र परीक्षण गरिएको छ। सामान्य रुपमा कोरोना परीक्षण गर्न आउनेको परीक्षण किट अभावमा बन्द गरिएको उनले जानकारी गराए।

अस्पताललाई किट जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले उपलब्ध गराउने गरेको छ। ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ल्याई जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले जिल्लामा किट उपलब्ध गराउँदै आएको छ।जिल्ला जन स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले आफूहरूसँग पनि किट नभएको जनाए। आफूहरूले किट उपलब्ध गराउने जिम्मा अब स्थानीय तहका नगरपालिकाहरूलाई मात्र भएकाले अस्पताललाई दिनका लागि आफूसँग किट उपलब्ध नभएको उनले जनाए। भक्तपुर अस्पताल कोरोनाको मुख्य अस्पताल हो। नेपाल सरकारले भक्तपुर अस्पताललाई कोरोनाको मुख्य अस्पतालको रूपमा तोकेको थियो। यसबाहेक जिल्लाको दुवाकोटस्थित केएमसी अस्पताललाई पनि कोरोना परीक्षण गर्ने अस्पतालको रूपमा तोकिएको छ।

जिल्लाको कोरोना परीक्षण हुने मुख्य अस्पतालमै किट नहुँदा सेवाग्राही मर्कामा परेका छन् । ‘कोरोना परीक्षणका लागि अस्पताल पुगेको थिएँ तर किट छैन भनेकाले परीक्षण गर्न पाइएन,’ जिल्लावासी सुमन श्रेष्ठले भने, ‘जिल्लाको कोरोनाको मुख्य अस्पतालमा नै किट नभएर परीक्षण गर्न नपाएपछि अब कहाँ गएर परीक्षण गर्न सकिएला र ?’ जिल्लाका धेरै निजी अस्पताल अहिले बन्द छन् । लकडाउनदेखि मुख्य गेट नै बन्द गरेर जिल्लाका निजी अस्पताल बन्द गरिएका हुन्।

देशैभरि कोरोना फैलिएसँगै भक्तपुर पनि कोरोनाको उच्च जोखिममा छ। हालसम्म यहाँ चारजना संक्रमित भेटिसकेका छन् । पछिल्लो पटक भक्तपुर नगरपालिका–९ की महिला वडा सदस्यमै कोरोना भेटिएको थियो । त्यसपछि झन् यहाँ कोरोना संक्रमणको सन्त्रास फैलिएको छ। जनताको काममा निरन्तर खटिरहेर जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधिमै कोरोना संक्रमण देखिएपछि जिल्लावासीमा त्रास छाएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्