काठमाडौं, १२ जेठ। कोरोना भाइरस (कोभिड–१९) का निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ। प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन। नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ। हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ। अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ। डब्लूएचओका अनुसार पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेका दसवटा खोप निष्कर्षमा पुग्ने उच्च सम्भावना छ।
चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ।यी बाहेक अन्य तीनवटा चीनले ‘इनएक्टिभेटेड’ तर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा पु¥याएको छ । त्यस अन्तर्गतको एउटा खोप भने पहिलो चरणमा छ। त्यसपछि भारत र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा ‘नन रिप्लेसिङ भाइरल भेक्टर’का रूपमा एक खोप तयार भइरहेको छ।
नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य दुई आरएनए र डीएन आधार भएको भ्याक्सिन पनि कोरोना विरुद्धमा बनिरहेको छ । यी सबैले दोस्रो चरण पार गरेका छन्। यी बाहेक अन्य ११४ वटा खोप निर्माणको प्रारम्भिक चरणमा रहेको डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको छ। कतिपय खोप विभिन्न प्राणीमा परीक्षण गरिएको छ भने कतिपय मानिसमा पनि परीक्षणका क्रममा छन्।
छिटो बजारमा आउने सम्भावना रहेको अमेरिकामा विकास भइरहेको ‘एमआरएनए–१२७३’ नामक खोपको परीक्षण परिणाम उत्साहजनक छ। मोडेर्ना नामक औषधि कम्पनीले यसको निर्माण गरिरहेको छ। त्यस खोपको मानवमा पहिलो परीक्षणका क्रममा प्रतिरोध क्षमताको विकास गर्दै प्राणघातक भाइरसबाट मानिसलाई बचाउन सकेको कम्पनीको दाबी छ। योसँगै यसले दोस्रो चरणको परीक्षणबाट तेस्रो चरणको परीक्षणमा जाने अनुमति डब्लूएचओले
दिएको छ।
मोर्डनाका अनुसार तेस्रो चरणको परीक्षण जुलाई २०२० देखि सुरु हुनेछ। अहिले कार्यविधि बन्दैछ। अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स अजारले यो वर्षको अन्त्य सम्ममा खोप आउनसक्ने विश्वास व्यक्त गरेका छन्। चीनमा निर्माणाधीन खोपले पनि मानव परीक्षणको पहिलो चरण पार गरेको छ। यसको परिणाम सुरक्षाजनक र तीव्र प्रतिरोध क्षमता निर्माण गर्ने खालको देखिएको बेलायतस्थित एक मेडिकल जर्नलले जनाएको छ। यो खोप १०८ जना स्वयंसेवीलाई तीन समूहमा विभाजन गरी फरक डोज दिई परीक्षण गरिएको थियो।
परीक्षण चीनका एकेडेमी अफ मेडिकल साइन्सेसका बायोलोजी प्राध्यापक केन वेईको नेतृत्वमा भइरहेको छ। यो बाहेक अन्य दुई खोप साकोभ्याक र पिकोभ्याकसमेत मानवमा परीक्षणका लागि डब्लूएचओबाट अनुमति पाइसकेको छ।अमेरिकी औषधि कम्पनी फाइजर इङ्क र बायोटेक एसई, जर्मन इम्युनोथेरापी कम्पनीका साथै जापानमा पनि छवटा खोप विकासका क्रममा छन्। खोप ओस्का विश्वविद्यालय, टोकियो विश्वविद्यालय र नेसनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीका साथै अन्य संस्था सक्रिय रहेको त्यहाँका स्वास्थ्य निकायले जनाएका छन्।
जर्मन युनिभर्सिटी अफ मारबर्गको भिरोलजी संस्थानले पनि मानवमा परीक्षणको तयारी गरिरहेको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गत फेबु्रअरीमा कोरोना भाइरस विरुद्धको खोप निर्माण थालेका थिए र परीक्षण
जारी छ। खोप बने पनि विकासशील देशमा पहुँच पुग्न समय लाग्नेछ । नेपाल जस्ता अति कम विकसित मुलुकमा त झनै समयमा आउन कठिन छ । नेपालका चिकित्सक प्रकाश बुढाथोकीले खोपमा पहुँच पुग्न समय लाग्ने बताए।
उनका अनुसार एक प्रभावकारी खोपको विकास गर्न धेरै चरण पूरा गर्नुपर्छ। विकसित भइसकेपछि पनि औद्योगिक उत्पादन र बजारसम्म पुग्न समय लाग्छ। कोरोना महामारी विरुद्धको ती खोप विकास भइहालेमा पनि छिटो आएमा सन् २०२१ कोअन्तिमतिर मात्र आउने उनको अनुमान छ। गोरखापत्र दैनिकमा खबर छ।



लोकपाटी न्यूज