काठमाडौं, १२ जेठ। आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय यतिबेला बजेटको अन्तिम तयारीमा जुटेको हो।
मन्त्रालयका अनुसार आइतबारसम्म बजेटको मस्यौदा करिब तयार भइसकेको छ। मस्यौदा करिब टुङ्गो लागिसकेको छ, मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने, “यसबाहेक अन्य आर्थिक प्रतिवेदन पनि तयार भइसकेका छन्। ”
मन्त्रालयले बजेटअघि आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । जुन यही मङ्गलबार सार्वजनिक गर्ने तयारी छ। बजेटको मस्यौदामा पनि कतिपय कार्यक्रमको बजेट उल्ल्लेख गरिएको र केही कार्यक्रमको मात्र बाँकी रहेको प्रवक्ता खत्रीले जानकारी दिनुभयो। “जेठ १५ गतेको बजेट वक्तव्यको धेरै काम अहिलेसम्म सम्पन्न भइसकेको छ,” उनले भने।
बजेट निर्माणकै लागि यतिबेला अर्थ मन्त्रालयका कर्मचारीको व्यस्तता निकै बढेको छ । अर्थमन्त्री डा। युवराज खतिवडा पनि बिहान ७ः०० बजे नै मन्त्रालयमा पुगेर बजेट निर्माणमा व्यस्त हुने खत्रीले जानकारी दिए । “मन्त्रीज्यू बिहान ७ः०० बजेदेखि राति ८ः००/९ः०० बजेसम्मै मन्त्रालयमा हुनुहुन्छ,” उनले भने। त्यस्तै कर्मचारी पनि बिहान ७ः०० बजेदेखि राति १०ः०० बजेसम्म खटिएको उनले बताए । यसरी खटिने कतिपय कर्मचारी केही आफ्नै घर जाने र केही मन्त्रालयमै बस्दै आएका छन्।कोरोना सङ्क्रमण रोकथामस्वरूप घोषणा गरिएको लकडाउनका कारण शिथिल अर्थतन्त्रलाई जगाउने र स्वास्थ्य पूर्वाधारमा बजेट बढी केन्द्रित हुने अर्थमन्त्री डा. खतिवडाले विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्दा नै उल्लेख गरेका छन्।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कोरोनामुक्त नेपाल, स्वास्थ्य पूर्वाधार, आन्तरिक उत्पादन र स्रोत परिचालन, कृषि क्षेत्रको विस्तार र रोजगारी सिर्जना सरकारको मुख्य प्राथमिकता रहने बताएका थिए । लकडाउनका कारण सरकारले अर्थतन्त्रमा तीन खर्बभन्दा बढीको क्षतिको अनुमान गरेको छ ।
त्यस्तै आर्थिक वृद्धि २।२७ प्रतिशत रहने प्रक्षेपण सरकारको छ। यस्तो परिस्थितिमा ल्याउन लागिएको बजेटबाट निजी क्षेत्रले पनि राहत प्याकेजको अपेक्षा गरेको छ । अर्कोतिर आर्थिक गतिविधि नहुँदा राजस्वका स्रोत खुम्चिएर आगामी आवका लागि स्रोत व्यवस्थापनको चुनौती पनि नयाँ बजेटका लागि थपिएको छ। गोरखापत्र दैनिकमा खबर छ।



लोकपाटी न्यूज

