काठमाडौं, १२ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदका अवसरमा सबै नेपाली मुस्लिमहरुलाई शुभकामना दिएका छन्।
अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा शुमकामना व्यक्त गर्दै बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताएका छन्।
शुभकामना सन्देशमा भनिएको छ,‘सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको छ। यस महामारी विरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै ईदुल फित्र चाडको अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।’
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।




लोकपाटी न्यूज

