काठमाडौं, ११ जेठ, उपत्यकाभित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ। काठमाण्डौ उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाण्डौ उपत्यका भौतिक विकास समितिले चार वटा नयाँ शहर निर्माणको डीपीआर तयार भएको बताएको छ।
समितिको आइतबार बसेको १३ औँ बैठकले दुई वटा नयाँ शहर (काठमाण्डौ नैऋत्य र काठमाण्डौ हरित)को डीपीआर स्वीकृत गरेको हो । बाँकी दुई वटा शहर (काठमाण्डौ ईसान र काठमाण्डौ आग्नेय) को यही जेठ २५ गते बस्ने १४ औँ बैठकले स्वीकृत गर्ने काठमाण्डौ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए।
समितिको जेठ २५ गतेको बैठकले डीपीआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेस हुने छ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा जाने छ । काठमाण्डौ उपत्यकाभित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ। न्यूनतम आठ आनाको कित्ताकाट गरी खरिदरबिक्री गर्न सकिने छ भने त्यसभन्दा कमको कित्ताकाट गर्न पाइने छैन।
चार वटा आयोजनामध्ये एक लाख रोपनी क्षेत्रफल भएको काठमाण्डौ ईसानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नको लागि १२ करोड रुपैयाँ विनियोजन भएकोमा भ्याटबाहेक सात करोड रुपैयाँ र बाँकी तीन वटा परियोजनाको अध्ययनका लागि दुईरदुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याटबाहेक एक करोड ४० लाख रुपैयाँ खर्च भएको तिवारीले बताए।
एक लाख रोपनी क्षेत्रफल रहेको काठमाण्डौ ईसान (पूर्व(उत्तर) को डीपीआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी कम्पनी र जेके एसोसिएट्सले गरेको छ । अन्य ती नवटा आयोजनाको डीपीआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन्।
चार वटा परियोजनामा काठमाण्डौ ईसान (पूर्व-उत्तर) काठमाण्डौ आग्नेय (पूर्व(दक्षिण), काठमाण्डौ नैऋत्य (दक्षिण-पश्चिम) र काठमाण्डौ हरित शहर (उत्तर) रहेका छन् । जसमध्ये काठमाण्डौ ईसानको क्षेत्रफल एक लाख रोपनी छ भने अन्यको १० हजार रोपनी रहेको छ ।
परियोजनामा काठमाण्डौ ईसान ९पूर्व(उत्तर) नयाँ शहर विस्तार क्षेत्र जसको कुल क्षेत्रफल एक लाख रोपनी क्षेत्रफल रहेको छ । यो परियोनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेयिगम, मुलपानी, गोठाटार हुँदै मनोहर पुल भक्तपुर जाने पुरानो बाटोसम्म, उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिणतर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटीलगायतको ठाउँसम्म रहेको छ ।
काठमाण्डौ आग्नेयको कुल क्षेत्रफल १० हजार रोपनी रहेको छ। यो आयोजनामा पूर्वतर्फ अरनीको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक वनलाई बाहिर पार्दै जाने छ।पश्चिमतर्फ खहरे खोला, बालकोट बिरुवा सडक, पानी ट्याङ्की, अमरनगरलगायतका ठाउँ रहेको छ। उत्तरतर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जङ्गलको छेउसम्म रहेको छ।
काठमाण्डौ नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ। यसको पूर्वमा छ्यासीकोटदेखि फर्सिडोल, वाग्मती नदीको झोलुङ्गे पुलसम्म, पश्चिममा वाग्मती नदी, उत्तरमा साविकको सैंबु गाविसको सिमाना, दक्षिणमा वाग्मती नदीसम्मको क्षेत्र रहेको छ।काठमाण्डौ उत्तरको कुल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ । यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातीर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड चोकदेखि मनोरथ हुँदै महादेव खोलासम्मको क्षेत्र समावेश गरिएको छ।



लोकपाटी न्यूज