काठमाडौं, ११ जेठ। अब सांसदहरूले लगाउने प्रतीक चिह्न (लोगो) परिमार्जन हुने भएको छ। सरकारले नेपालको नयाँ नक्शा जारी गरेपछि सांसदहरूले लगाउने प्रतीक चिह्न लोगो परिमार्जन गगरिने भएको हो।
आइतवार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को लोगो (प्रतीक) र राष्ट्रिय सभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक अशोक पौडेलका अनुसार संघीय संसद्को लोगोमा रहेको नक्सा सरकारले जारी गरेको नक्साअनुसार अद्यावधिक गर्ने निर्णय भएको छ। सांसदले शपथ गरेको दिन उनीहरूलाई संसद्को लोगो दिइने प्रचलन छ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले संघीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरूपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय गरेको छ। अहिले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि लोगो परिवर्तन गर्नेबारे छलफल चलिरहेको छ।


लोकपाटी न्यूज

