जेलमा रहेका ३ सय बन्दीलाई कोरोना संक्रमण

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

कराची, १० जेठ। पाकिस्तानको कराचीस्थित जेलमा मात्रै ३ सयभन्दा बढी बन्दी कोरोना भाइरसबाट संक्रमित भएका छन्। कराची केन्द्रीय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा संक्रमण फैलिएको अधिकारीहरुले जानकारी दिएका छन्।

शनिबार सार्वजनिक भएको विवरणअनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरैजनामा संक्रमण फैलिएको बताइएको छ। कारागारका अधिकारीहरुले संक्रमित र संक्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा–छुट्टै राखिएको जानकारी दिएका छन्।

चाँडो–चाँडै संक्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सबै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परीक्षण गरिएको छ। कारागारमा पहिलो संक्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो।

त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो। अहिले त्यो दिन–प्रतिदिन बढ्दै गइरहेको पाइएको छ। शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी संक्रमित भएका छन्। रासस/एएनआई