फलेवासमा बाँदर आतंक : भान्साको खाना समेत राखेनन्

makai 1
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत, ८ जेठ। पर्वतको फलेवास नगरपालिकामा बाँदरले आतंक मच्चाएको छ। बाँदरको आतंकले खेतीबालीमा मात्र होइन भान्सामा पकाएर राखेको खान समेत नपाउने अवस्था आएको हो।

फलेवास नगरपालिका ७ लिमिठानामा बादरको बथानले भान्सामा पकाएर राखेको खाना समेत खाइदिएको हो। लिमिठाना आँटिघरकी स्थानीय चन्द्रवती पौडेलले भनिन् ‘बादरले घरबास नै उठाउलान जस्तो छ, जे खेती लगाए पनि केही खान दिदैनन वारीमा भर्खरै गोडेका मकै जति सवै सोत्तर छन्, करेसाबारीमा जे तरकारी फलाए पनि खान दिँदैनन्, पार्नु हैरानै पारेका छन् , आज भान्सामा पकाएर राखेको भातको कसौंडी समेत बारीमा पुर्याएर खाए।

‘पौडेल जस्तै साविकको लिमिठाना ७ की बविता श्रेष्ठलाई पनि यो भन्दा ठूलो हैरानी र दिक्दारी बाँदरबाट भोग्नु परिरहेको छ। उनले पनि आक्रोश पोख्दै भनिन् ‘जे लगाए पनि केही खाना दिँदैनन्, खेतबारीको त खाएका थिए घरमा आँटिमा राखेको अनाज समेत खान दिएनन् ,कसलाई के भन्ने ? मरीमरी दुख ग¥यो नफल्दै खाइदिन्छन,अलिअली जोगाएर थन्काइयो भन्न पनि दिएनन्,मकैका झोतेली जति सके भकारीमा अलिअली भएको समेत केही राख्ने भएनन्। कति लखेट्ने आजभोलि त टेर्दा पनि टेर्दैनन्, महिला केटाकेटीलाई त झन झम्टनै आउछन्। ‘यस्तै अर्का स्थानीय सुवास रेग्मीले थपे ‘बाँदरले त विधम्शनै मच्चाएका छन्,लखेटेर अल्लि पर पुर्‍यो फेरि आहिहाल्छन्, बिहान धानको बीउ छरेर आयो खाना खाएर पानी लगाउन जाँदा केही छैन। ‘यी त प्रतिनिधि बोली मात्र हुन्।

रातो बाँदरको हुल र कल्मुखेले फलेवासका किसानहरुलाई सताइरहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण मकै जोन परियोजनामार्फत् बीउ खरीद गरी सुङ्गुरे बारीको करिब १ सय रोपनीमा लगाएको मकै बाँदरले सखापनै पारेको छ। लिमिठानामा जस्तै नगरपालिकाका वाड नम्वर ६ देबिस्थान, ८ ठानामौला, ९ भगरा,१० कुर्घा र ११ पाङराङमा वादरले वढी दुख दिएको हो।

नगरपालिकाका प्राय वडाहरुमा बाँदरले सास्ती पुर्याउदा स्थानीयले हरेक साल हैरानी खेपिरहनु परेको छ। कृषिमार्फत् सम्वृद्धी हासिल गर्नका लागि नगरपालिका र सम्वन्धित निकायको ध्यान जान जरुरी देखिन्छ। फलेवासलाई खाद्यान्न वाली मकैको पकेट क्षेत्र मानिन्छ। जिल्लाकै महाशिला गाउँपालिकाले भने बाँदर नियन्त्रणलाई प्राथमिकता दिएर अग्रसरता देखाइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्