काठमाडौं, ८ जेठ। काठमाडौं उपत्यका प्रवेश गर्ने सवै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्ण रुपमा सिल गर्ने निर्णय भएको छ। काठमाडौं उपत्यकाका नगर प्रमूखहरुसँग बैठक राखेर गृह मन्त्रालयले सवै नाकाहरु सील गर्ने निर्णय गरेको हो।
गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सामग्री बाहेक अरुलाई पूर्ण रुपमा प्रवेश बन्द गरिएको छ। उपत्यका प्रवेश गर्ने सवै नाकाहरु सील गर्ने निर्णयको परिपत्र बिहीबार नै जारी भइसकेको छ। काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य संभाव्य स्थालहरुमा क्वारेन्टिन बस्ने व्यक्तिहरुको लगत संकलन र अन्य व्यवस्थापन अगाडि बढाउने निर्णय गरेको छ।
बढी जनघनत्व रहेको उपत्यका उच्च जोखिम देखिएकाले अत्यावश्यक काम बाहेक प्रवेश गर्न रोक लगाइएको छ। लुकीछिपी प्रवेश गर्ने कार्य नरोकिएकाले तत्काल कडाइ गर्न परिपत्र गरिएको छ। आरडीटी परीक्षण गरी सोको रिपोर्ट आएपछि मात्रै उपत्यका प्रवेश गर्न दिइने भएको छ। आरडीटी परीक्षण भने स्वयम् व्यक्तिले नै बेहोर्नुपर्ने भएको छ।
बैठकले उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरुको प्रवेश विन्दुमा आइपुग्न पूर्व नै सुरक्षा निकायले विशेष निगरानीमा रोक्ने निर्णय गरेको छ। स्थानीय क्लबहरुले गरिरहेको सामुदायिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाइएकाले उक्त कार्य स्थानीय तहसँग समन्वय नभए रोक्ने समेत निर्णय भएको छ। यस्तै, उपत्यकाका स्थानीय तहहरुले स्थानीय प्रशासनमा लुकिछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी, लगत संकलन आवश्यक कार्बाहीको प्रक्रिया शुरु गरिने भएको छ।




लोकपाटी न्यूज

