काठमाडौं, ७ जेठ। नेपालमा आज थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार कोभिड-१९ पुष्टि हुने मानिसको संख्या ४ सय २७ पुगेको छ।
आज थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्। यी मध्ये बाँकेको नरैनापुरका ६ जना पुरुष छन् भने घनकुटाका ५ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताए। यस्तै कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिममा १ जना कोरोना संक्रमित भेटिएको प्रवक्ता देवकोटाले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो। नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन्।



लोकपाटी न्यूज

