७ प्रश्न : जवाफमा होइन, जवाफदेहीतामा भूमिका बढाउ।
बाँके जिल्लाको क्वारेन्टाइनमा एक युवकको कोरोनाका कारण भएको मृत्युले केही गम्भीर प्रश्न उब्जाएका छन्। विश्वब्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई केवल एक थान मृत्युुका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरुलाई नजरअन्दाज गरियो भने कोरोनासँगको संघर्षका हाम्रा आगामी दिनहरू झनै विकट हुनेछन्।
उनको मृत्युसँग गाँसिएका ७ प्रश्न
(१) ती युवकले अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, श्वास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिन नै अस्पताल पु¥याउनुपर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?
(२) क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ। तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?
(३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभर नै यो समस्या किन निरन्तर देखिएको छ ?
(४) आइतबार बिहान ७.०० बज्नुअघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित व्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?
(५) लास उठाउन परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, सम्भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशालाबीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परीक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पिसिआर उपकरणमा परीक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परीक्षण त्यही ढंगले समयमै गर्ने/गराउने व्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?
(६) नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थितिदेखि परीक्षण ढिलाइसम्म र स्वास्थ्य सामग्री अभावदेखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजनसम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेको बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?
(७) श्रीमती तथा अबोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केही चेत आएको छ कि बांँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?
एउटा मात्रै जीवन गुम्नु पनि सम्बन्धितको सतप्रतिशत गुम्नु हो, अनि परिवारजनले भोग्ने अपुरणीय क्षति। ती युवकको आत्माले शान्ति प्राप्त गरोस् भन्ने हाम्रा कामनाहरु तब सार्थक हुनेछन्, जब उनको मृत्युसँग सम्बन्धित प्रश्नहरुको गहिरो समीक्षा गरेर सरकार आत्माआलोचित हुनेछ र यो घटनापश्चात् कोरोना विरुद्धको संघर्षमा लड्न युद्धस्तरीय ब्यवस्थापन गर्ने तयारीमा लाग्नेछ।
नेपाली कांग्रेसले बाम्केको क्वारेन्टाइनमा भएको युवकको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिएको छ। घटनाबाट शिक्षा लिँदै गम्भीर भएर कार्य गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दै नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न चेतावनी दिन चाहन्छ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, सञ्चार तथा प्रचार विभाग



लाेकपाटी न्यूज