मध्यपुरथिमी नगरपालिकाका कार्यकारी अधिकृतले रातारात सरुवा लिए

bisworaj marasini pic
लोकपाटी न्यूज

भक्तपुर, ५ जेठ। मध्यपुरथिमी नगरपालिकामा नगर प्रमूखको नियम विपरित हुने कार्यका लागि दबाब बढ्न थालेपछि कार्यकारी अधिकृतले रातारात सरुवा लिएका छन्। नियम विपरित भागबन्डाका आधारमा २० जना नगर प्रहरी भर्तिको बिषयमा विवाद बढेपछि कार्यकारी अधिकृत विश्वराज मरासिनीले कोरोनाको महामारीकै बीच सरुवा लिएका हुन्। नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले नियम बिपरित कार्यहरु गर्न दबाब दिने गरेका कारण मध्यपुरथिमि नगरपालिकामा प्रमूख प्रशासकीय अधिकृतहरु धेरै समय टिक्न सक्दैनन्। कार्यकारी अधिकृतहरु जति समय नगरपालिकामा काम गर्छन् त्यो अवधिमा कि त नगर प्रमूख र कार्यकारीबीच टसल चलिरहन्छ, कि त कार्यकारीहरु सरुवाको सहारा लिन पुग्छन् । मध्यपुर थिमिमा १५ महिनाको अवधिमा ४ जना प्रमूख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्।

तत्कालिन प्रमूख कार्यकारी अधिकृत कमल ज्ञवालीसँग हात हालाहालको स्थितिबाट शुरु भएको श्रेष्ठसँगको मनमुटावको श्रृंखला बिश्वराज मरासिनीसम्म आइपुग्दा समेत रोकिएको छैन् । नियम बिपरित गरिएको खर्च शीर्षकको अनुमोदन गर्ने, नगरपालिका र अस्पताललाई भर्ति केन्द्र बनाउने कार्यको बिरोध गरेकै कारण अहिले नगर प्रमुख श्रेष्ठसँग कार्यकारी अधिकृत मरासिनीको बोलचाल समेत छैन् । मध्यपुर थिमि नगरपालिकाले अहिले सो क्षेत्रमा एकजना कोरोना संक्रमित देखिएको भन्दै लकडाउनलाई कडाई गर्न नगर स्वयंसेवकहरु परिचालन गरेको छ। नगर क्षेत्रभित्रको आवागमनलाई कडाई गर्नका लागि परिचालन गरिएका ती स्वयंसेवकहरुलाई मेयर श्रेष्ठले नगर प्रहरीमा रुपान्तरण गर्ने प्रक्रिया अगाडि बढाएसँगै कार्यकारी मरासिनी र प्रमुख श्रेष्ठबीच टसल शुरु भएको हो । श्रेष्ठले २० जना नगर प्रहरी भागबण्डाका आधारमा नियुक्ति गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसको बाहुल्यता रहेको नगरपालिकामा कांग्रेसको तर्फबाट १२ जना र मेयर श्रेष्ठले ८ जना पाउने गरी भागवण्डा मिलाएका छन् ।

तर, नियुक्तिका लागि कानुनी प्रक्रिया पुरा नगरेको भन्दै मरासिनीले प्रक्रियाबाट नियुक्ति गर्नुपर्ने बताएपछि मेयर रुष्ट बनेका हुन्। आवश्यकता सम्बन्धी सूचना नै प्रकाशन नगरी नियम बिपरित अहिले २० जनाको लिष्टिङ्ग भईसकेको छ । सूचना प्रकाशन गरी दरखास्त आब्हान, निवेदन दर्ता र परीक्षाका न्यूनतम बिधिहरु समेत पूरा नगरी नियुक्ति प्रक्रिया अगाडि बढाएपछि आफु फस्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत मरासिनीले रातारात सरुवा लिई मन्त्रालयमा हाजिर भएका छन्।

उनले नियम बिपरित मेयर श्रेष्ठले गरेका नगर प्रहरी नियुक्तिमा साथ दिन नसक्ने भन्दै पन्छिए पछि बिबाद बढेको हो। त्यही बिबादका कारण कार्यकारी अधिकृत मरासिनी रातारात सरुवा भएका हुन्।अहिले मरासिनीको स्थानमा उद्धब रिजालले आज सोमबारबाटै जिम्मेवारी लिने गरी सरुवा भई आएका छन् । रिजाल यस अघि भक्तपुर नगरपालिकामा कार्यकारी अधिकृत थिए। मेयर श्रेष्ठकै रोजाईमा मध्यपुर नगरपालिकामा सरुवा भई आएका यसअघिका प्रमुख कार्यकारी अधिकृत महेश बरालले नगर कार्यपालिकाबाट पारित नगरी नगर प्रमुख एक्लैले स्विकृति दिएको योजनाको नियम बिपरितको भुक्तानी दिन नमानेकै कारण नगर प्रमुखसँग कार्यकारी अधिकृत बरालको टसल भएको थियो। यहि टसलका कारण ६ महिना पनि नबित्दै बरालले सरुवा लिएका थिए। आफू फस्ने काम नगर्ने भन्दै बराल गत कार्तिक ७ गते सरुवा भई गएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्