काठमाडौं, ४ जेठ। सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकामा आपत्ति प्रकट गरेका छन्। भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले कूटनीतिकरूपमा खण्डन गर्नुपर्ने उनहरुले माग गरे। सिंहदरबारमा आज बसेको बैठकमा समितिका सदस्य भीमबहादुर रावलले आफ्नो मन्तव्यको शुरुआतमै शुक्रबार भारतीय स्थल सेनाध्यक्ष नरवानेको अभिव्यक्तिको भत्र्सना गरे ।
“भारतीय सेनाध्यक्षले कालापानी र लिपुलेकबारे नेपाललाई कसैले उचाल्यो भनेका छन्, म त्यो भनाइको भत्र्सना गर्दछु”, उनले भने । कालापानी र लिपुलेक नेपालको भूमि भएकाले सरकारले जसरी पनि त्यहाँबाट भारतीय सेना फिर्ता गराउनुपर्ने रावलले सरकारसँग माग गरे ।
समितिका अर्का सदस्य सुरेन्द्रकुमार कार्कीले भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर बेग्लै नक्सा जारी गरे पनि नेपालले उक्त भूभागसहितको नक्सा बनाउनुपर्ने बताए ।
“नक्सा छ महिनासम्म पनि बनाउन सकेका छैनौँ”, उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । हालै सरकारले कालापानीदेखि १२ किलोमिटर वरको गागाबगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट राखेकामा उहाँले प्रशंसा गर्नुभयो । “२५÷३० जना प्रहरी राख्दा पनि राम्रो सन्देश गएको छ”, कार्कीले भने।
यस्तै समितिका सदस्य डा दीपकप्रकाश भट्टले भारत सरकारले आफ्ना स्थल सेनाध्यक्ष नरवानेलाई बोल्न लगाएकामा आपत्ति प्रकट गरे ।
“सेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ धम्की हो”, उनले भने, “नेपाल सरकारले यसको विरोध गरोस् ।”
सेना प्रमुखलाई बोल्न लगाउनु उचित नभएको उहाँको भनाइ थियो । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक गरेर झण्डै ४०० वर्ग किलोमिटर नेपालको भूमि अतिक्रमण गरेको सांसद भट्टले आरोप लगाए ।
नेपालले कूटनीतिकरूपमा समस्या समाधानका लागि चाँडो पहल गर्न उन आग्रह गरे ।



लोकपाटी न्यूज