काठमाडौं, ४ वैशाख। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १२ स्थित कपनमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। कपनको तेन्जिंग चोकमा बस्ने २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो।
राजधानीको कपनमा फर्निचर पसल सञ्चालन गर्ने परिवारका चार जना लकडाउनकै बीच २२ गते राति उनीहरु सर्लाहीबाट काठमाडौं आएका थिए। काठमाडौँ आएको सूचना प्राप्त भएपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो। त्यसमध्येकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको हो।
युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएकोे परिवारले जानकारी दिएको छ। हिजो सर्लाहीको रामनगर गाउँपालिका ४ की किशोरीमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको थियो।
कपन आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले जानकारी दिए। उनलाई हिजो कोरोना संक्रमण भएको पुष्टि भएपछि आज सो क्षेत्र सिल गरिएको हो।



लोकपाटी न्यूज

