नयाँदिल्ली, २ जेठ। गत २४ घण्टामा भारतमा थप तीन हजार ९६७ जना कोरोनाभाइरस संक्रमित भएपछि भाइरस (कोभिड–१९)को संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको संख्या दुई हजार ६४९ जना पुगेको छ।
यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ।
भारतमा शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार हाल यो रोगका ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोनाभाइरस संक्रमित रहेका छन्। महाराष्ट्रमा छ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन्। महाराष्ट्रमा कोरोनाभाइरसको संक्रमणबाछ एक हजार १९ जनाको मृत्यु भएको छ। महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ नौ हजार ६७४ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ भने दुई हजार २४० जना भने निको भएका छन् ।
तमिलनाडूमा ६६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ। गुजरातमा नौ हजार ५९१ संक्रमति रहेका छन् भएका भने तीन हजार ७५३ निको भएका छन्। गुजरातमा कोरोनाभाइरसको संक्रमणबाट ५८६ जनाको मृत्यु भएको छ।
दिल्लीमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ४७० पुगेको छ । दिल्लीमा तीन हजार ४५ जना निको भएको छ । दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ ।
संक्रमण फैलिनेक्रम नरोकिएपछि भारत सरकारले देशव्यापी ‘लकडाउन’लाई थप दुइ साताको लागि लम्बाएको थियो ।
भारतले गत मे ४ देखि लागू हुनेगरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो। कोरोनाभाइरसको संक्रमण देशभरि बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले थप योजनासहित चौथो चरणको लकडाउन गर्ने बताएका छन्। रासस/एएनआई



लोकपाटी न्यूज

