बागलुङ, ६ वैशाख। कोरोनालाई जितेकी बाग्लुङकी ६५ वर्षीया महिला आज डिस्चार्ज भएकी छिन्। नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएर डिस्चार्ज भएकी हुन्।
बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनलाई आज साँझ डिचार्ज गरिएको छ।
उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी यसअघि गरिएको भए पनि स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएसँगै अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर शनिबारै साँझै घर पठाएको हो।
गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार भइरहेको थियो । कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत महिलाको यसभन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा पोजेटिभ आए पनि तेस्रो र चौथौ पटक नेगेटिभ आएका कारण उनलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए ।
घर फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उनले सबैको माया र आफनो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएएको बताइन्। डाक्टर र नर्सहरुले आफ्नो धेरै सेवा गरेको भन्दै उनले खुसी व्यक्त गरिन् ।



लोकपाटी न्यूज

