काठमाडौं, ६ वैशाख। बाँके क्षेत्र नम्बर एकका संघीय सांसद महेश्वर गहतराज (अथक) ले नेपालगञ्जबाट सञ्चालित केही अनलाइनले आफ्नो नाम जोडेर प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। शनिबार सांसद अथकले एक विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइनले आफ्नो नाम जोडेर प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
जारी विज्ञप्तिमा सांसद अथकले कमिसन खाएको प्रमाणीत गर्न चुनौति दिँदै यदि कमिसन खाएको प्रमाणीत भए सार्वजनिक जीवनबाट बिदा हुने बताएका छन्। हिल्स मेडि सप्लायर्सको स्वास्थ्य सामग्रीको व्यापारीक कारोबारसँग आफ्नो नाम जोडी कालोबजारी र कमिसनमा जोडिएको भनि आएको उल्लेखित समाचार शतप्रतिशत गलत, भ्रामक र पूर्वाग्रहपूर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
साँसद अथकले आफूविरुद्ध श्रृङखलाबद्ध रुपमा भ्रामक समाचारहरु प्रकाशित गरिएको भन्दै केहि दिन पहिले आफ्नो जनसम्पर्क कार्यालयमार्फत् आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुरका क्रियाशील पत्रकारलाई बितरण गरिएको स्वास्थ्य सुरक्षा सामग्रीका सन्दर्भमा पनि अनलाइन मिडियाहरुले बिना प्रमाण, आधारहिन र भ्रामक समाचार प्रकाशित गरेको उल्लेख गरेका छन्।
जनताको जनप्रतिनिधिको हैसियतले आफूले राज्यको तर्फबाट बितरण हुने स्वास्थ्य सामग्रीबाट बाँके, गैर सरकारी संस्थाका तर्फबाट बितरण हुने सामग्री, व्यावसायीक तवरबाट आउने स्वास्थ्य सामग्रीबाट नछुटोस् भनेर ध्यान दिने र पुर्याउने गरेको उल्लेख गर्दै सो को जानकारी सामाजिक सञ्जाल र मिडियाको माध्यमबाट समयमै सरोकारवाला निकायलाई दिने गरेको उल्लेख गरेका छन्। सो सामग्री ल्याउन बाँके र बाँकेबासीको चिन्ता र सरोकार बाहेक आफनो कुनै स्वार्थ नभएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘ काठमाडौंमा स्वास्थ्य सामग्री बाँके लैजानका लागि आफूले समन्वयको काम मात्रै गरेको बताउदै स्वास्थ्य मन्त्रालयको सिफारीसमा उक्त सामग्री नेपालगञ्जको हिल्स मेडि सप्लायर्सले खरिद गरि बिक्रिका लागि लगेको हो।’ हिल्स मेडि सप्लायर्सलाई सामग्री बिक्रि गर्दा बाँकेलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्ने बाहेक कुनै सम्वन्ध नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सो सामग्री बिक्रि बितरणमा हिल्सले कानून बिपरीत भए गरेको भए सम्वन्धीत सप्लायर्स जिम्मेवार रहने र कानून अनुसार कारबाहीको दायरमा ल्याउनु स्वभाविक भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा समाजमा आजको मितिसम्म निस्वार्थ रुपमा काम गरिरहेको र औषधि खरिदमा मात्र नभएर यस बाहेक अन्य कुनै काममा कमिसन खाएको प्रमाणीत गर्न चुनौति सांसद अथकले चुनौति समेत दिएका छन्।
गलत नियत र कुत्सीत मनसायका साथ यस्ता समाचार सम्प्रेषण गर्नेप्रति सचेत रहन र भ्रमित नहुन उनले सबैमा अपील समेत गरेका छन्। नेपालगञ्जबाट सञ्चालित केही अनलाइनले सांसद अथकको नाम जोडेर स्जास्थ्य सामग्रीमा कमिसन खाएको भन्दै समाचार प्रकाशित गरेका थिए।




लोकपाटी न्यूज

