जनकपुरधाम, ६ वैशाख। जनकपुरधामको सडकमा पैसा फाल्दै भागेका दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको समयमा दुई महिला सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका थिए।
शुक्रबार जनकपुरधाम वडा नम्बर ४ महावीर चोकस्थित बीच बाटोमै पैसा फाल्दै भागेकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ की आमुना खातुन र अलिना खातुनलाई प्रहरीले जानकी मन्दिर पछाडी रहेको मस्जिद नजिकबाट पक्राउ गरेको हो।
उनीहरु दुबैजनालाई शनिबार दिउँसो पक्राउ गरिएको छ। उनी दुबै जना नन्द र भाउजु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। सिसिटिभी फुटेजको आधारमा उनीहरु दुबै जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक कार्कीले बताए।



लोकपाटी न्यूज
