सडकमा पैसा फ्याक्दै दुइ महिला भागेपछि स्थानियबासी त्रसित

लोकपाटी न्यूज

जनकपुरधाम, ५ बैशाख। सडकमा पैसा फ्याकेर दुइजना महिला भागेपछि त्रास फैलिएको छ। जनकपुरमा महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका हुन। जनकपुरधाम–४ महावीर चोकमा दुईजना महिलाले सडक र पसल छेउमा पैसा फ्यालेर गएपछि स्थानीयवासी त्रसित बनेका हुन्। शुक्रबार करिब एकबजे तर्फ दुईजनाको समूहमा आएका महिलाहरुले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीहरुले बताएका छन्।

निलो र हरियो रंगको साडी लगाएकी उनीहरुले करिब सय मिटरको दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेको त्यहाँका स्थानीयवासीहरुले बताएका छन्। सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि दुबैजना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीयवासीहरुले बताए। ‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिमजस्तै देखिने दुईजना महिलाहरु पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबैजना कुदेर भागे,’ महावीर चौकका स्थानीयहरुले भने।

स्थानीयवासीका अनुसार तीनचारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन्। त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए। सडकमा फ्यालिएका रुपैयाँका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन्। सडकमा रुपैयाँ फ्याल्ने दुबै महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। साथै स्थानीयवासीले दिएको सूचनाको आधारमा रुपैयाँ उठाउने व्यक्तिहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले नजिकै रहेको एक घरमा सीसीटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्