काठमाडौं, ५ बैशाख। बेलायतमा तीन हप्ता थप लकडाउन गरिने भएको छ। बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका हुन। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, यदि लकडाउनलाइ छुट दिइयो भने त्यसले सार्वजनिक स्वास्थ्यलाई मात्र खतरामा पार्ने छैन, अर्थतन्त्रलाई नै ठूलो खतरा हुन सक्छ।
प्रधानमन्त्री बोरिस जोनसन बिरामी भएदेखि डोनमिक राबले प्रधानमन्त्री पदको जिम्मेवारी वहन गरिरहेका छन। ‘अहिलेसम्म हामीले सोचे जस्तो संक्रमणको दर घटाउन सकेका छैनौं।’ उनले भने। बेलायतमा कोरोना भाइरसको कारण अस्पतालमा ८६१ थप मानिसहरुको मृत्यु भएको छ, यो संगै यहाँ मर्नेको संख्या १३ हजार ७२९ पुगेको छ।
कोरोना भाइरसको फैलावट रोक्न २३ मार्चमा बेलायतमा लकडाउन लागू गरिएको थियो। सरकारले मानिसहरूलाई उनीहरूको घरमा बस्न अनुरोध गरेको थियो र सबै अनावश्यक व्यवसायहरू बन्द भएका थिए। एकै साथ दुई व्यक्तिको लागि एक ठाउँको छेउमा उभिन पनि प्रतिबन्ध लगाइएको थियो।



लोकपाटी न्यूज

