पछिल्लो २४ घण्टामा नमूना परीक्षण गरिएका सबको रिपोट नेगेटिभ

corona test
लोकपाटी न्यूज

काठमाडौं, ४ बैशाख। पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३२ वटा नमूना परीक्षण भएकोमा सबै नेगेटिभ देखिएका छन्। स्वाब परीक्षण विधि र र्‍यापड डाइग्नोष्टिक विधिबाट गरिएको नमूना परीक्षणमा सबै नेगेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वाब परीक्षण (पिसिआर) विधिबाट ३ सय ६९ जना र र्या्पिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा गरिएका परीक्षण कुनै पनि पोजेटिभ नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। वीरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय र्या्पिड परीक्षण भएको छ। बुधबार पनि नयाँ संक्रमण देखिएको थिएन। अहिलेसम्म दुबै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएका छन्। जसमा पिसिआर विधिबाट ७ हजार २ सय ४० र आरडिटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन्।

देशभरी नै सरकारले आरडिटी परीक्षणको दायरा बढाएको छ। ८ जिल्ला बाहेक सबै जिल्लामा आरडिटी परीक्षण सुरु भएको छ। ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण सुरु नभएको प्रवक्ता देवकोटाले बताए। काठमाडौं उपत्यकाका १६ वटा नीजि अस्पतालले कोभिड क्लिनिक सञ्चालनको अनुमति पाएका छन्। यसअघि १५ हब अस्पताल, ६४ प्रादेशिक अस्पताल र २२ वटा नीजि मेडिकल कलेजहरुले सञ्चालन अनुमति पाएका थिए । ४ हजार ९ सय १ जना अहिले क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ८ र बाहिर ९५ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन्। नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा १ जना उपचारपछि घर फर्किएका छन्। १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्