काठमाडौं, ३ बैशाख। अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले व्यवसाय बचेमात्र राजनीति बच्ने बताएका छन्। बिहीबार अर्थमन्त्रालयमा आयोजित व्यवसायी र बैंकर्ससँगको छलफलमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका खतिवडाले अहिलेको अवस्थामा व्यवसाय बचेमात्र राजनीति बच्ने बताएका हुन्।
‘बैंकहरुलाई तपाईंहरुकै मार्फत मेरो आग्रह के छ भने, अहिलेको अवस्थामा निक्षेपको ब्याज सोही अनुपातमा वा त्यो भन्दा मुनी राख्नुपर्छ। अहिले व्यवसाय बच्यो भने मात्र राजनीति बच्छ’, छलफलमा डा. खतिवडाले भने, ‘व्यवसाय बचाउन र राजनीति क्षेत्रलाई पनि बचाउन हामीले कतिपय नियमनकारी व्यवस्थालाई खुकुलो पनि गरेका छौँ र विश्वव्यापी रुपमा यो स्थापित पनि भइसकेको छ।’ डा. खतिवडाले अहिले कतिपय नियमनकारी व्यवस्थालाई खुकुलो पार्न राष्ट्र बैंकमार्फत् काम भइरहेकोसमेत प्रष्ट पारे। ‘केही नियमनकारी व्यवस्थालाई खुकुलो गर्न सकिन्छ भनेर त्यो पालना गराउनेमा नेपाल सरकारले राष्ट्र बैंकमार्फत काम गर्दैछ’, डा. खतिवडाले भने, ‘तपाईंहरुको लागतलाई हामीले संरक्षण गर्दैछौँ।’
उनले व्यवसायिलाई अहिले नाफाको कुरा नगरी व्यवसाय टिकाउने कुरामा जोड दिन आग्रहसमेत गरेका छन्। खतिवडाले लकडाउनपछि सुरुमा कृषि र आन्तरिक पर्यटनलाई उठाउन सकिने बताए। अर्थमन्त्री खतिवडाले नेपाललाई कोभिड–१९ विरुद्ध जुद्धन अन्तर्रा्ष्ट्रिय सहयोग बढ्ने विश्वास व्यक्त गरे।



लोकपाटी न्यूज
