तातोपानी नाकाबाट औषधि आयात गर्न स्थानीयवासीले सहजीकरण गर्ने

Tatopani-naka
लोकपाटी न्यूज

काठमाडौं, ४ बैशाख। तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन्। चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने भएकाले स्थानीयवासीले आफूहरू त्रसित भएको बताउँदै तातोपानीस्थित सुक्खा बन्दरगाहमा भेला भएर सरकारी निर्णयको विरोध गरे पनि अहिले समझदारीमा आएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीचको छलफलमा सङ्क्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ। उक्त सहमतिपछि अब नाकाबाट औषधि आयातमा स्थानीयवासीले अवरोध जनाउने छैनन्।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार प्रजिअ ढकाल र गाउँपालिका अध्यक्ष राजकुमार पौडलले बीच टेलिफोनमा भएको कुराकानीका आधारमा तत्काल औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने समझदारी भएको हो। ‘खाद्यान्न ल्याउनुपर्ने अवस्थामा पुनः छलफल गर्ने सहमति भएको छ’ वडाध्यक्ष श्रेष्ठले भने । सिन्धुपाल्चोक र तिब्बतको नेलाम जिल्लाका सुरक्षा अधिकारीबीच तातोपानीको मितेरी पुलमा मङ्गलबार भएको बैठकले नाका सञ्चालन गरेर औषधि र खाद्यान्न सामग्री भित्र्याउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्