काठमाडौं। एप्रिल महिनाको अन्त्यसम्ममा ब्रिटेनले दैनिक एक लाखको संख्यामा कोरोना भाइरस परीक्षण गर्ने जनाएको छ। तर परीक्षणको गति सुस्त भएको भन्दै आलोचना भइरहेको छ।
यूकेमा अहिले भइरहेका परीक्षणहरूले कुनै व्यक्तिमा कोभिड-१९ भए वा नभएको पत्ता लगाउँछ। त्यस्ता परीक्षणका लागि सङ्क्रमणको शङ्का भएका व्यक्तिको नाक वा घाँटीबाट स्वाबको नमुना झिकेर प्रयोगशालामा पठाई त्यसमा भाइरस छ कि छैन त्यो हेरिन्छ। सरकारले गर्न खोजेको अर्को परीक्षणमा एन्टीबडी पत्ता लगाइन्छ। यो परीक्षण सङ्क्रमण भइसकेका व्यक्तिमा उपयोगी हुन्छ।
गर्भ बसेको छ कि छैन भनेर जाँच्दा जसरी नै कुनै किट वा उपकरणमा रगतको थोपा हालेर यो परीक्षण हुन्छ। यसबाट शरीरले बाह्य पदार्थसँग प्रतिरोध गर्दा बनाउने तत्व अर्थात् एन्टीबडी पत्ता लाग्छ। सरकारले ३५ लाखवटा नमुना जाँच्ने क्षमता भएको प्रविधि किनेको भए पनि त्यो उपयोगी भए वा नभएको टुङ्गो लागेको छैन। अस्पतालमा रोग पत्ता लगाउने परीक्षणहरू निकै भरपर्दा हुन्छन्।
तर तिनले कोरोनाभाइरस सङ्क्रमण भएका सबै बिरामी पत्ता लगाउन सक्छन् भन्ने स्पष्ट छैन। सङ्क्रमणको प्रारम्भिक चरणमा रहेका वा तुलनात्मक रूपमा भाइरसको मात्रा कम भएका व्यक्तिमा परीक्षणले यथार्थपरक परिणाम नदिन सक्छ। घाँटीमा स्वाब लिने ठाउँसम्म भाइरसको सङ्क्रमण पर्याप्त फैलिसकेको छैन भने पनि कोरोनाभाइरस नदेखिन सक्छ।
यूकेमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो, ‘खोप सेप्टेम्बर सम्ममा’ कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“ अहिलेसम्म एन्टीबडी परीक्षण भरपर्दो भएको प्रमाणित भइसकेको छैन। स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले केही समयअघि एन्टीबडीसम्बन्धी केही परीक्षण गरिएको भए पनि ती कुनै पनि सन्तोषजनक नभएको बताएका थिए।
कोरोनाभाइरस परीक्षणको सुपरिवेक्षण गरिरहेका प्राध्यापक जोन न्यूटनले द टाइम्स पत्रिकालाई बताएअनुसार चीनबाट आयात गरिएका उपकरणले कोरोनाभाइरसबाट गम्भीर बिरामी भएकाको पहिचान गर्न सघाए पनि मध्यमखाले लक्षण भएकाको हकमा त्यसले राम्ररी काम गरेन।
कोरोना भाइरस परीक्षण किन महत्त्वपूर्ण छ ?
यसका दुइटा मुख्य कारण छन् मानिसमा रूपमा रोग पत्ता लगाउनु र भाइरस फैलिन नदिनु। समुदायमा कोरोनाभाइरस सङ्क्रमणको अवस्था थाहा पाउँदा स्वास्थ्य निकायलाई सघन उपचार एकाइको व्यवस्थासहित थप योजना बनाउन सघाउँछ।
सामाजिक दूरी कायम राख्ने जस्ता उपायमा निर्णय गर्न समेत सहयोग पुग्छ। उदाहरणका लागि, धेरै मानिसहरू सङ्क्रमित भइसकेका छन् भने लकडाउन अर्थात् हिँडडुलमा प्रतिबन्ध आवश्यक नहुन सक्छ। व्यापक रूपमा जाँच नगर्नुको अर्थ धेरै मानिसहरू आवश्यकताबिनै एकान्तवास गरिरहेका हुन सक्छन्।
अझै पनि धेरै मानिसहरूका लागि परीक्षण उपलब्ध छैन। अहिले धेरै परीक्षण अस्पतालमा गम्भीर रूपमा रहेका बिरामीका लागि सीमित गरिएको छ। जसको अर्थ लक्षण देखिएका थुप्रै मानिसको पनि परीक्षण हुन र उनीहरूमा कोरोनाभाइरस भए नभएको पत्ता लाग्न बाँकी छ।
अहिले लक्षण भएका चिकित्सक र नर्स तथा सङ्क्रमित व्यक्तिको संसर्गमा आएका मानिसको जाँच भइरहेको छ। यसपछि अस्पतालममा बिरामीलाई स्याहार गर्ने कर्मचारीको जाँच गरिनेछ। बीबीसी



लोकपाटी न्यूज

