तिलोत्तमा, १ बैशाख। तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले २ लाख १ हजार रुपैंयाँ सहयोग गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पार्टीले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो।
नगर प्रमूख बासुदेव घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डेले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा एकद्वार प्रणालीबाट खर्च गर्ने गरी तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरिएको बताए। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण प्रभावित बिपन्न वर्गका घरपरिवारलाई राहत सहयोग पुगोस भनेर पार्टीको तर्फबाट रकम सहयोग गरिएको सभापति पाण्डेले बताए। उनले हरेक बिपतको घडीमा नेपाली काँग्रेस तिलोत्तमा सदैव जनताको साथमा रहने बताए।
सो अवसरमा तिलोत्तमा नगर प्रमूख बासुदेव घिमिरेले नेपाली काँग्रेस तिलोत्तमाले गरेको सहयोगको प्रशंसा गर्दै राहत वितरण कार्य विभेदरहित र पारदर्शी भैरहेको बताए। विपद्को सबै मिलेर सामना गर्नुपर्नेमा उनले जोड दिए। सहयोग रकम नेपाली काँग्रेस तिलोत्तमा नगर समिति र सबै वडा समितिलाई परिचालन गरी संकलन गरेर एकमुष्ट रुपमा नगरपालिकालाई हस्तान्तरण गरिएको सचिव शिव गैरेले जानकारी दिए।
यसैबीच तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म झण्डै नगद ५० लाख रुपैंयाँ संकलन भएको छ। कोषमा तिलोत्तमा नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६६५ रुपैंयाँ कोषमा जम्मा भएको लेखा अधिकृत रमेश बस्यालले जानकारी दिए। कोषमा राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघ-संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, विद्यालय, क्लव, व्यवसायिक प्रतिष्ठानलगायतले सहयोग गरेका छन्। सबैभन्दा धेरै सहयोग सहकारी क्षेत्रबाट प्राप्त भएको लेखा अधिकृत बस्यालले बताए।
नगरपालिकाको आव्हान अनुसार नगरमा रहेका सहकारी, बैंक तथा वित्तीय संस्था, व्यक्ति, विद्यालय, क्लब, आमा समूह, व्यवसायिक प्रतिष्ठानले नगरपालिकाको कोषमा राहत रकम जम्मा गरेका हुन्। यसअघि नैं स्थापना गरिएको कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुद बनाउन नगरपालिकाले गरेको अपीलअनुसार हालसम्म झण्डै ५० लाख नगद संकलन भएको हो। नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यबस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन्।



लोकपाटी न्यूज

