काठमाडौं । थप एकहप्ता लकडाउन लम्ब्याउने सरकारले तयारी गरेको छ। बैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी छ। मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले जानकारी दिएको छ।
पछिल्लोपटक थप गरेको लकडाउन बुधबार सकिँदैछ। सरकारले एक हप्ता लम्ब्याएमा बैशाख १० गते बन्दाबन्दीको एक महिना पूरा हुनेछ। सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो।
उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती-बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमित फेला पर्दै कोरोना दोश्रो चरणमा प्रवेश गरेपछि सरकारले थप कडाइ गरेको थियो।
सोमबारसम्म कोरोना सङ्क्रमितको संख्या १४ पुगेको छ। पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित फेला परेका थिएनन्। आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ सङ्क्मित थपिएका हुन्। आइतबार थपिएका तीनैजना नागरिक भारतीय हुन्। हालसम्म प्रदेश नम्बर २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित फेला परेका छन्।



लोकपाटी न्यूज

