वीरगञ्ज हुँदै कैलाली पुगेकी महिलामा कोरोना भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

corona test
लोकपाटी न्यूज

काठमाडौं, १ बैशाख। वीरगञ्जबाट आएकी एक महिलामा गरिएको नमूना परीक्षणमा कोभिड-१९ को सङ्क्रमण देखिएपछि उनको स्वास्थ्य उपचार थालिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका वरिष्ठ इमर्जेन्सी विशेषज्ञ तथा प्रवक्ता डाक्टर जगदिश जोशीले कैलालीको लम्कीमा १२ दिन क्वारन्टीनमा बिताएर घर गएकी ती महिला पुन: अस्पताल भर्ना भएको जानकारी दिए।

उनका अनुसार स्वाब परीक्षणको नतिजाले कोभिड-१९ पोजेटिभ देखाएको थियो। यो सँगै उक्त प्रदेशमा कोभिड(१९ को पाँच वटा सङ्क्रमण देखा परेका छन्।  नेपालमा अब तेह्रजनामा सङ्क्रमण भएको पुष्टि भएको छ। कैलालीमा ती महिलासँगै आएका मानिसहरूको सम्पर्कमा पुगेका र भारतबाट नेपाल भित्रिएका गरि करिब ४०० जनाको परीक्षण र नमुना सङ्कलन भइरहेको एक जना स्थानीय अधिकारीले बताएका छन्।

कैलालीको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेब बजगाईँले बीरगञ्जबाट लम्की आएका १८ जना मध्ये १ जना वृद्धामा पीसीआर विधिबाट गरिएको जाँचमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बीबीसीलाई जानकारी दिए।
उनले भने, “उहाँसँगै आएका १७ जनाको पीसीआर र्‍यापिड टेष्ट दुवै विधिबाट जाँच गरेका थियौँ।  र्‍यापिड जाँचको विधिबाट सङ्क्रमण नदेखिएपछि क्वारन्टीनस्थलबाट घर पठाइएको थियो। तर अहिले पीसीआर विधिको जाँचबाट एक जनामा सङ्क्रमण देखिएपछि उहाँहरू र उहाँसँग सम्पर्कमा आएका गरी करिब ४० जनालाई क्वारन्टीनमा राखेका छौँ।“
उनले सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था ’सामान्य’ रहेको र उनलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जानकारी दिए।

प्रादेशिक निकायबाट आएका स्वास्थकर्मीले वीरगञ्जबाट आएको समूहसँग सम्पर्क गरेकाले क्वारन्टीनमा राखिएका र भारतबाट आएका सहित शङ्का लागेका विभिन्न ४०० जनाको लम्कीमा परीक्षण सोमबारबाट अघि बढाएको उनले जानकारी दिए। यसअघि नेपालमा पहिलो पटक समुदाय स्तरमा सरेको भनिएको कोरोना भाइरसको सङ्क्रमण पनि कैलालीमै देखिएको थियो। सङ्क्रमितको अझै उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

यसैबीच,  रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन्। जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा माघ १० गते पहिलोपटक कोरोनाको लक्षण देखिएको थियो। उनी बुहानबाट आएका युवा थिए। त्यसयता संक्रमणको भयावह नदेखिए पनि संक्रमितको संख्या भने बढ्दै गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्