बारीमै सुक्न थाले फूल

लोकपाटी न्यूज

काठमाडौं, १ बैशाख। लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन्। लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ फूल जान छाडेपछि बारीमा नै सुकेर नष्ट हुन थालेको छ । कतिपयले त फूल बिक्री गर्न नपाएपछि काटेर फाल्नसमेत सुरु गरेको पश्चिम चितवनमा फूल व्यवसाय गर्दै आएका बद्री रानाले जानकारी दिए ।

उनले एक बिघा १० कट्ठामा फूल खेती गर्दै आएका छन् । ग्याडुलस जातको फूल लगाएका राना अहिलेसम्म १ लाख रुपैयाँ भन्दा बढीको फूल काटेर फालेको बताए । फ्लोरीकल्चर एशोसिएशन नेपाल चितवनका अध्यक्ष प्रकाश पन्त अहिले फूल खेती गर्ने किसान चिन्तित बन्न थालेको बताए । उनका अनुसार व्यावसायिकरूपमा गरिएको फूल खेती ग्याडुलस र गोदावरी बारीमा नै सुक्न थालेका छन् । पन्तले जिल्लामा ६ बिघाभन्दा बढीमा लगाइएको ग्याडुलस र गोदावरी फूल नष्ट भएको जानकारी दिए । १ बिघाको फूल बिक्री गर्दा १५ लाख रुपैयाँ हाराहारी आम्दानी हुने भए पनि ती सबै नष्ट हुने अवस्थामा पुगेको उनले बताए । अधिकांशले जग्गा भाडामा लिएर महँगोमा खरिद गरेको बीउ र गोडमेलमा धेरै खेताला लगाउने हुँदा व्यवसायी मारमा परेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्