पोखरा, २८ चैत्र। नेकपाका गण्डकी प्रदेश समिति सदस्य तथा राष्ट्रिय युवा संघका नेता सुमन देवकोटाले प्रधानमन्त्रीलाई गुमराहमा राख्ने गिरोहका कारण सरकार र पार्टीको छवि दिनदिनै ओरालो लागेको भन्दै चिन्ता व्यक्र गरेका छन्।
सामाजिक सञ्जालमा निकै कम मात्र बहस गर्न रुचाउने देवकोटाले कोरोना भाइरसको नियन्त्रणमा सरकारले देखाएको सक्रियता सकारात्मक रहे पनि केही कमजोरी रहेको उल्लेख गरेका छन्। उनले सर्वदलीय संयन्त्र सरकारलाई बलियो बनाउने एउटा अवसर भएकोसमेत बताएका छन्। यसलाई षड्यन्त्र होइन, अवसरका रुपमा बुझ्न पनि उनको अपील छ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले इतिहास रचेको भन्दै पार्टी र सरकारलाई बलियो बनाउन उनले अपील गरेका छन्। देवकोटाले ‘नेताहरु एकपछि अर्को गर्दै भ्रष्टाचारको खाडलमा फस्दै गएपछि गोयबल्स शैलीमा अर्काको विरोध गरेर आफू चोखिनेहरुलाई तपाईं हजार गाली गर्नुस् या बाटो देखाउनुस्, तिनले आफ्नो बानी छोड्नेवाला छैनन्’ भनेका छन्।
देवकोटाको स्टाटस।
‘देशमा कोरोनाको असर (फैलावट) हेर्दा हामी डराउनुपर्ने अवस्थामा छैनौं। विश्वभर नै महामारीको रुप लिएको यो ज्यानमारा भाइरसलाई कन्ट्रोल गर्न सरकारले खेलेको भूमिका कतिपय कमजोरीका बाबजुद सन्तोषजनक छ। यो प्रतिकूलतामा अवसर र चुनौती दुवै छन्। समग्र देशलाई नै एकढिक्का बनाएर लैजान सर्वदलीय संयन्त्र एक अचुक उपाय हो। यो स्वर्णीम् अवसरलाई षड्यन्त्रको रूपमा अथ्र्याउने केही अगुवालाई हेर्दा लाग्छ, दृढ आत्मविश्वासका साथ अगाडि बढ्दै गर्नुभएका बिमार अध्यक्ष तथा प्रधानमन्त्रीलाई गुमराहमा राखेर काण्डै काण्ड मच्चाउँदै अन्तिम अवसरको रूपमा आफ्नो स्वर्ग हल्लिएको महशुस गर्नेहरुको रोदन मात्रै हो।
यो पार्टीलाई, सरकारलाई कमजोर बनाउने समय होइन र आफू र आफूले विश्वास गरेका नेताहरु एकपछि अर्को गर्दै भ्रष्टाचारको खाडलमा फस्दै गएपछि गोयबल्स शैलीमा अर्काको विरोध गरेर आफू चोखिनेहरुलाई तपाईं हजार गाली गर्नुस् या बाटो देखाउनुस्, तिनले आफ्नो बानी छोड्नेवाला छैनन्। पार्टीका अध्यक्षद्वयले कम्युनिस्ट पार्टीको एकताको सपनालाई साकार गरेर इतिहासमा एक अनुपम योगदान दिइसक्नुभएको छ। उहाँहरुले आँट र साहस नदेखाउनुभएको भए यो सम्भव थिएन पनि।
केही थान कुलंघारको पछि नलागौं। न यी भ्रष्ट सुध्रिन्छन् न तिनका अन्ध पिछलग्गु। त्यसैले अब पार्टी अनि सरकारलाई समर्थन जुटाउन लागौं। पाँडे गालीगलौज बन्द गरौं। सकारात्मक सोचौं। नयाँ वर्ष २०७७ को शुभकामना। घरमा नै बसौं पटकपटक हात धोऔं।’



लोकपाटी न्यूज

