टेकुका काेराेना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी

Teku hospital
लोकपाटी न्यूज

काठमाडौं, २९ चैत। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित दुई व्यक्तिलाई केहीदिनमा डिस्चार्ज गर्ने जनाएको छ। कोरोना संक्रमित ती व्यक्तिलाई आइसोलेसन कक्षमा राखेर उपचार गरिएको छ।

कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए। दुई दिनभित्र अन्तिम रिपोर्ट आउने र त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिने उनले जानकारी दिए।

टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ। यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ। तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ।

अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको छ भने अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन्। २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको छ। विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो। तर, कोरोनाको सङ्क्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्