अबको जोड कोरोनाको ‘र्‍यापिड डाइग्नोष्टिक टेष्ट’ : मूख्यमन्त्री राई

Rai pic
लोकपाटी न्यूज

विराटनगर, २८ चैत। प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताएका छन्। उनले अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लँडाई रहेको बताए।

‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लँडाईमा छौं। यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज १८ दिन भएको छ,’’ मुख्यमन्त्री राईले शुक्रबार भन्नु भएको छ,‘‘यो भाइरस नियन्त्रणकै लागि अहिले पनि देश लकडाउनको अवस्थामा छ। अहिले हाम्रो प्रदेशबाटै कोरोना परीक्षण भइरहेको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको कुरा विदितै छ।’’

शुक्रबारबाट कोशी अस्पतालबाट कम्तिमा दिनमा ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब सञ्चालनमा आएको छ। यो ल्याबको निरीक्षण शुक्रबार नै मुख्यमन्त्री राईले गर्नु भएको छ। राईले भने ,‘‘यहाँहरुलाई जानकारी गराउन चाहन्छु आजबाटै र्यापिड डाइग्नोष्टिक टेष्टको शुरुवात गरिएको छ। पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण कार्य आजबाटै शुरु भएको छ।’’

केही दिनभित्रै झण्डै ६ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्रीको भनाइ छ। उनले यस प्रकार कोरोनालाई पराजित गर्न सरकार प्रदेशवासीको सुरक्षाको ग्यारेन्टी गर्न परीक्षण महत्पूर्ण हुने मूख्यमन्त्री राईको अपेक्षा छ। शुक्रबारसम्म १ सय ८० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ भने १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ। उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पठाइएको मूख्यमन्त्रीले बताए।

प्रदेशका ४८ स्थानमा ४ सय ३२ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियू तयार भएका छन् । २ सय ६१ ठाउँमा ४ हजार १ सय ९८ वटा क्यारेन्टाईन बेड बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ६ सय ८ जना बस्नु भएको छ। हाम्रो प्रदेशमा होम क्वारेन्टाईनमा ३ हजार २ सय ९५ जना बस्नु भएको छ। क्वारेन्टाइनको रेखदेख मापदण्डअनुसार सञ्चालनको अगुवाई सबै जिल्लामा नेपाली सेनाबाट हुने कुरा समेत मुख्यमन्त्री राईले अवगत गराउनु भएको छ । प्रदेश सरकारले स्थापना गरेको प्रदेश १ जनसुरक्षा कोषमा १२ करोड ८७ लाख ६६ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएको पनि मुख्यमन्त्री राईले जानकारी दिए।  मुख्यमन्त्री राईले भने,‘‘हामीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिसकेका छौं ।’’

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक,स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई निजले गरेको सेवाको कदर स्वरुप प्रदेश सरकारको तर्फबाट एकमुष्ट रु. ५० लाख प्रदान गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री राईले स्मरण गरे।

मुख्यमन्त्री राईले भने,‘‘यसरी हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं। तपाईहरुको सुरक्षाका लागि हामी कुनै कसर बाँकी नराखी काम गरिरहेका छौं।’’ मूख्यमन्त्रीले उच्च मनोबलका साथ सामाजिक दूरी कायम गर्ने, भाइरसबाट संक्रमित हुनबाट बच्ने र अनुशासनको पालना गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र लकडाउनको पूर्ण रुपले पालना गर्न प्रदेशवासीलाई अपिल पनि गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्