निर्मल पौडेल/ पर्वत,२८ चैत। पर्वतको कुश्मास्थित नमूना आवासीय माध्यमिक विद्यालयले अनलाईन माध्ययमबाट कक्षा सञ्चालन गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का कारण देशैभर लकडाउन भएको अवस्थामा विधार्थीहरुको पठनपाठनमा निरन्तरता दिनका लागि विधालयले अनलाईनमार्फत् कक्षा सञ्चालन गरेको हो।
लकडाउनका कारण देशभरका विश्वविधालय बन्द भएका छन्। लकडाउनका कारण शैक्षिक क्षेत्रमा पनि ठूलो नोक्सानी भएको छ। कक्षा १ देखि कक्षा ९ सम्मका परीक्षा सम्पन्न भएका छन् भने राष्ट्रिय परिक्षा वोर्डवाट सञ्चालन हुने एस ईई ,कक्षा ११ र कक्षा १२ का वोर्ड परीक्षाहरु समेत स्थगित भएका छन्। परीक्षाको मुखमा सामना गर्नुपरेको बन्दले विद्यार्थीहरुमा ठूलो प्रभाव पारेको छ।
परीक्षाको तयारीमा रहेका विधार्थीहरुलाई असहज भैरहेका बेलामा नमूना आवासीय माध्यमिक विधालयले अनलाईन कक्षा सञ्चालन गरेर एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कक्षा सञ्चालन गराएको हो। विधालयले एसईई परीक्षामा सहभागीता जनाउने विधार्थीहरुलाई रहेक दिन १ देखि २ घण्टासम्म प्रत्यक्ष निगरानीमा राखेर अनलाईन प्रविधीको प्रयोग गर्दै शैक्षिक क्रियाकलापमा सहभागी गराइएको हो।
विद्यालयले मिलाएको प्रवन्ध अनुुुसार होम क्वारेन्टाईनबाट शिक्षक विद्यार्थीहरुले अध्ययन अध्यापनमा सहभागीता जनाउने गरेका छन्। हरेक दिन बेलुका ८ बजेपछि कक्षा सञ्चालन हुँदै आएको छ। अनलाईनमार्फत् विद्यार्थीहरुले समस्या राख्ने तथा शिक्षकले समस्याको समाधान गर्ने गरेका छन्। विद्यालयले सञ्चालन गरेको अनलाईन कक्षामा एकैपटक १ सय विद्यार्थीहरुले सहभागीता जनाउन सक्ने जुम सफ्टवेरको माध्ययमबाट पठनपाठन गराइएको विद्यालयका उपप्राचार्य खेमराज शर्मा चापागाईले जानकारी दिए।
विद्यालयका प्राचार्य इन्द्रमान खत्रीले भने “जहाँ इच्छा त्यहाँ उपाए, विद्यार्थीहरुको पठनपाठनमा निरन्तरता दिनका लागि हामीले अनलाईन कक्षा सञ्चालन गरेका हौं।” आवश्यमतानै आविष्कारको जननी भने अनुसार अहिले घरमै बसेर अनलाईन सुविधाका रुपर्मा जुम अनलाईन मेथोड’ आईरहेकोले यसै मेथोडको अनुसरण गर्दै हामीले लकडाउनका बेला घरमा रहेका विद्यार्थीहरुलाई पठनपाठन गराइरहेका छौँ।
खत्रीका अनुसार विद्यार्थीहरुले मोवाईल, ल्यापटप ,कम्युटरमार्फत् पठनपाठनमा सहभागीता जनाएको र शिक्षकहरु पनि लकडाउनको बेलामा आफ्ना विद्यार्थीहरुलाई कक्षा सञ्चालन गर्ने व्यवस्था विद्यालयले मिलाएकोमा हर्षित भएका छन्। यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यामप्रसाद शर्माले परीक्षाको तयारीमा रहेर परीक्षा दिन नपाएका विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै अनलाईन प्रविधिबाट कक्षा सञ्चालन गरी शिक्षक विद्यार्थीहरुको निकटता बढाउनुका साथै विद्यार्थीहरुका समस्याहरुको हल गर्न अग्रसर विद्यालयका शिक्षक विद्यार्थी सवैलाई धन्यवाद दिए ।
विद्यालयका उप-प्राचार्य तथा सामाजिक अध्ययन विषयका शिक्षक खेमराज शर्माले संयोजन गरेका online virtual कक्षामा विद्यालयको कक्षा १० मा अध्ययनरत ४० जनाले सहभागिता जनाउँदै आएका विद्यालयले जनाएको छ। नमूना विद्यालयले मात्र नभई यो लकडाउनको बेला अन्य विद्यालयले पनि अनलाईन प्रविधीमार्फत् कक्षा सञ्चालन गरे विद्यार्थीहरुमा सकरात्मक उर्जा थपिनुका साथै पठनपाठनमा निरन्तरता हुने देखिन्छ।



लोकपाटी न्यूज

