हेलेन बोलेक : २१ औं शताब्दीकी चे–ग्वेभारा

helin-bolek
जीवन शर्माका जस्तै लाग्ने हेलेनका गीतहरुले मानव मस्तिष्कमा उद्वेग मच्चाउँछन्। सन् २०१० मा योरम ब्याण्डको २५ औं स्थापना दिवसमा इस्तानबुलमा आयोजित कन्सर्टमा १ लाख २५ हज्जार दर्शकले ८ घण्टासम्म लगातार भाग लिएका थिए। हेलेन जनगायक मात्र नभएर सुप्रसिद्ध रक स्टार समेत थिइन्।
लोकपाटी न्यूज

उदयराज गौतम

विश्व कोरोना भाइरसको प्रकोपले आक्रान्त छ। उता टर्कीको कुनै एकान्त निवासमा २८८ दिन लामो कठोर भोक हड्तालपछि यही अप्रिल महिनाको ३ तारेखमा एकजना योद्धा, एक महान् क्रान्तिकारी जनगायक हेलेन बोलेक (Helen Bolek) ले चुपचाप मृत्युवरण गरिन्। अमेरिकी साम्राज्यवाद र आफ्नै देशभित्रको क्रुर तानाशाही शासनविरुद्ध जनवादी गीतहरुका माध्यमबाट शासकहरुको मुटु थर्काउने हेलेनले जनताका नाममा गीत गाएबापत् माफी माग्न कैयौंपटक टुर्किस सरकारले जारी गरेको ऐलानलाई घृणा गरिरहिन्।

२८ वर्षीय हेलेन बोलेकको जन्म सन् १९९२ मा भएको थियो। हेलेन, टर्किस जनवादी कलाकारहरुको समूह योरुम समूहकी एक सदस्य थिइन्। टर्किस विद्रोहको रक्तरञ्जित इतिहासमा हेलेन एक बिछट्ट क्रान्तिकारी कलाकार तथा शोषित, पीडित जनताको आवाज बोल्ने जनकलाकार थिइन्। उनी आवद्ध गायन समूहले आफूलाई कम्युनिस्ट भनेर दावी नगरे पनि राज्यले भने सधैं कम्युनिस्ट भनेर धपाइरह्यो, लखेटिरह्यो। बिकट बस्ती, झुपडी र गरीबका आवाज घन्काउने यो समूह यति इस्पातिलो थियो कि क्षणभरमै लाखौँ मानिसलाई भेला पारेर आकाश गुन्जायमान पार्न सक्ने सामर्थ्य राख्थ्यो।

Udayraj Gautam
उदयराज गाैतम

त्यो लोकगीत गायन समूह ‘योरुम’ले रचना गरेका लोकगीतहरु, लाखौँ एल्बमहरु र सिनेमाहरुको लोकप्रियताले हेलेन जस्ता कलाकारहरुलाई टर्कीमा स्थापित गराएको थियो। झोपड बस्तीका बिकलान्गहरुको आवाजलाई गीत संगीत र आफ्ना रचनाहरुको माध्यमबाट जनताको माँझमा ल्याउने र शासकहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने बनाउन पूरै सफल थियो हेलेनहरुको गायन समूह। सन् २०१७ मा रिलिज भएको हेलेन बोलेकको एउटा एल्बमले निकै ठूलो तहल्का मच्चायो, जसको शीर्षक थियो इल्ले काव्गा (Ille Kavga), जसको अर्थ हुन्छ ‘अब कुनै विकल्प छैन, केवल संघर्ष मात्र।’ त्यस कारणले पनि उनीहरुलाई कम्युनिस्ट भनियो, लेफ्ट भनियो।

‘हामी सत्यको पक्ष र दमनको विरुद्धमा छौं, कम्युनिस्ट भन वा लेफ्ट, त्यो तिम्रो कुरा हो’ उनीहरु जवाफ दिन्थे। सम्भवतः गायन समूहका केही सदस्यहरु टर्किस कम्युनिस्ट पार्टीसँग आवद्ध थिए। दक्षिण अमेरिकी गायन समूह Nueva Canyon बाट प्रेरित जनकलाकारहरुको समूह योरम ग्रुप सन् १९८५ मा मार्मरा विश्वविद्यालयमा अध्ययन गर्ने ४ जना विद्यार्थीहरुको समूहले गठन गरेको थियो, जसलाई योरम ब्राण्डका नामले व्यापक चिनिन्छ।

यो ब्राण्डले टर्कीस र कुर्दिस लोकगीतहरुको बेजोड प्रस्तुति दिने गर्थ्यो। शताब्दियौंसम्म दबिएका जन आवाजहरुमा संगीत भर्थ्यो र एल्बमहरुको बिक्री गरेर गरीबहरुका झुप्रोमा रोटी बाँड्ने काम गर्थ्यो। यहाँ देशको रक्षा र विकासको मात्र कुरा होइन, हामीले मालिकहरुको हातबाट टर्कीलाई खोसेर जनताको हातमा सुम्पिनुपर्छ। यदि त्यसका लागि आवश्यक पर्छ भने समुद्रहरु पनि सुकाउनु पर्छ। हामी सधैं अनौंठो, शोषित, बेरोजगार किसान र जनताको साथ खडा हुनेछौं। हामी मारिन सक्छौं। तर यो मामला सधै रहन्छ। यस्तै बोल्छन् हेलेनका गीतहरुले।

जीवन शर्माका जस्तै लाग्ने हेलेनका गीतहरुले मानव मस्तिष्कमा उद्वेग मच्चाउँछन्। सन् २०१० मा योरम ब्याण्डको २५ औं स्थापना दिवसमा इस्तानबुलमा आयोजित कन्सर्टमा १ लाख २५ हज्जार दर्शकले ८ घण्टासम्म लगातार भाग लिएका थिए। हेलेन जनगायक मात्र नभएर सुप्रसिद्ध रक स्टार समेत थिइन्।

हेलेनको योरम ब्याण्डले अस्ट्रेलिया, सिरिया, जर्मनी, फ्रान्स नेदरल्याण्ड, बेल्जियम, डेनमार्क र अस्ट्रियामा धेरै बिशाल कन्सर्टको आयोजना भव्यतापूर्वक सम्पन्न गरेको थियो। ४०० पटकभन्दा बढी टर्कीको फासीवादी सरकारले यो ब्याण्डलाई मुद्दा लगाएको थियो। स्थापनाको शुरुवातदेखि नै टर्कीभन्दा बाहिरका देशहरुमा योरम ब्याण्डले आफ्ना चर्चित् कन्सर्टहरु प्रदर्शन गरिसकेको थियो, जसमा हेलेनको भूमिका नै प्रथम स्थानमा थियो। अत्यन्त सुन्दरी हेलेनले स्टेजमा प्रस्तुति दिँदा मानिसहरुमा मन्त्रमुग्धता छाउँथ्यो।

हेलेनका कानून व्यवसायी तियानका अनुसार पुलिसले यातना दिने क्रममा बन्दी गृहमा हेलेनको भोइलिन बजाउने दाहिने हात भाँचिदिएको थियो भने उनको प्रिय भोइलिन समेत टुक्रा–टुक्रा पारिदिएको थियो। भोइलिन टुक्र्याउन सके पनि तिमीहरुले मेरो अन्तर्मनको आवाज कहिल्यै टुक्रा पार्न सक्दैनौ भन्ने उनको आवाज अहिले पनि इस्तानबुलका झुपड बस्तीहरुमा गुञ्जिरहेको छ। घरबारबिहिन गल्लीमा सुत्नेहरुकी साक्षात् देवी हेलेनका सुन्दर फोटाहरुको बिक्री कोरोना भाइरसले त्रस्त टर्कीमा ह्वात्तै बढेको छ।

मस्जिदमा महिलाहरु बत्ती बालिरहेका हेलेनको मृत्युपश्चात् अन्त्येष्टिमा लेखिएको थियो, ‘मानव अधिकारको रक्षा गर्ने व्यक्तिलाई सधै राज्य, पूँजीवाद र साम्राज्यवादद्वारा आतंकवादीको रूपमा देखाइन्छ। किनभने यी व्यक्तिहरू, जसले ३ सेन्टका लागि काम गर्छन्, उनीहरूको अधिकारहरू चोरी गरिरहेका छन् र आफ्नै पाउच भरिरहेका छन्। तपाई रगत बगाइरहनुभएको छ, अब शान्तसँग सुत्नुहोस्। तर, तपाईका दुश्मनहरु भने अब निदाउने छैनन्।’

टर्कीको तानाशाही शासनको शुरुवातसँगै जन्मेको योरम ब्राण्डले साम्राज्यवादसँगको मिलेमतोमा जनताका आवाजहरुलाई दबाएको थियो। पूँजीवाद, साम्राज्यवाद र तानाशाहीतन्त्रविरुद्ध आगो ओकल्ने योरम ब्राण्ड सरकारको नजरमा सधैं कसिंगर बन्यो। हेलेन लगायतका जनकलाकारहरु विरुद्ध दमन, धरपकड तीव्र बन्यो। १८ जनवरी २०१३ मा हेलेन लगायत यो ब्राण्डका ५ सदस्यहरुलाई आतंककारी समूह जनमुक्ति मोर्चाको सदस्य भएको आरोप लगाई गिरफ्तार गरियो। हेलेनलाई ३ दिनपछि रिहा गरियो। यद्यपि उनीविरुद्धको मुद्दा भने कायमै राखियो।

नोभेम्बर २०१६ मा पुनः ८ जना जनकलाकारहरुलाई राज्यविरुद्धको मुद्दा लगाएर पक्राउ गरियो र मुद्दाको सुनुवाई नगरी जेलमा कोचियो। २०१९ को सुरुमै योरम व्याण्डको केन्द्रीय कार्यालयमा राज्यले रेड गर्‍यो। वाद्यवादनका सम्पूर्ण सामग्रीहरु नष्ट गरियो। यो समूहका सबै गतिविधिहरुमा प्रतिबन्ध लगाइयो। गीत, एल्बम् तथा कन्सर्टहरुमा पूरै प्रतिबन्ध लाग्यो। घर–घरमा यो समूहका गीतहरु सुन्नसमेत नपाइने नियम लागू गरियो। योरम ब्राण्डमाथि प्रतिबन्ध लाग्यो। बर्तमान राष्ट्रपति रिसेप तैप एर्दोगानको तानाशाही सरकारले नाङ्गो नाँच देखायो।

कलाकारहरुको गीत गाएर जीविकोपार्जन गर्ने मौलिक हकमा डण्डा प्रहार गरियो भने संसारभर मानव अधिकारको ढुङ्ग्रो फुक्ने साम्राज्यवादको नाइके अमेरिकाले एर्दोगानका कुकृत्यलाई आँखा चिम्लेर समर्थन जनायो। विद्रोहस्वरुप हेलेन र उनका सहकर्मी इब्राहिम गोसेकले अनिश्चितकालिन भोक हडताल शुरु गरे। योरम ब्याण्डमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने र जेलमा भएका सहकर्मीहरुको मुद्दा फिर्ता लिएर उनीहरुलाई रिहा गर्नुपर्ने मुख्य माग थियो, जसलाई निरङ्कुश सत्ताले कुल्चिदै गयो। इब्राहिमले जेलको कठघरामै र हेलेनले जेल बाहिर आफ्नो घरकै एउटा कुनामा बसेर भोक हडताल सुरु गरे।

दुवै जनाको स्वास्थ्य नराम्रोसँग बिग्रन सुरु गर्‍यो। अन्ततः इब्राहिमलाई २५ फेब्रुवरी २०२० मा जेलमुक्त गरियो। जेल जीवनबाट छुटकारापछि पनि इब्राहिमले घरमै भोक हडताल जारी राखे भने हेलेनको भोक हड्ताल पहिलादेखि नै जारी थियो। अकस्मात दुश्मनका जल्लाद राज्यका सिपाहीहरुले हेलेन र इब्राहिम दुवैको घरमा जबर्जस्ती प्रवेश गरी दुवैलाई अस्पताल लग्यो। अप्रिल १ देखि नै हेलेनको शरीरमा अक्सिजनको मात्रा टुट्न लागिसकेको थियो। दुश्मनको सामुन्ने औषधी खाएर बाँच्नुभन्दा सगर्व प्राण त्याग्ने बाटो उनले रोजिन्। अन्ततः ३ अप्रिल २०२० मा उनले पहाडभन्दा गरुङ्गो मृत्युवरण गरिन्।

हेलेनको मृत्युपश्चात् अन्त्येष्टिमा लेखिएको थियो, ‘मानव अधिकारको रक्षा गर्ने व्यक्तिलाई सधै राज्य, पूँजीवाद र साम्राज्यवादद्वारा आतंकवादीको रूपमा देखाइन्छ। किनभने यी व्यक्तिहरू जसले ३ सेन्टका लागि काम गर्छन्, उनीहरूको अधिकारहरू चोरी गरिरहेका छन् र आफ्नै पाउच भरिरहेका छन्। तपाई रगत बगाइरहनुभएको छ, अब शान्तसँग सुत्नुहोस्। तर तपाईका दुश्मनहरु भने अब निदाउने छैनन्।’

एक २० वर्षीय युवकले अन्त्येष्टिको फूलमा लेखेर झुण्ड्याएको थियो र त्यहाँ लेखिएको थियो, ‘जब म यस कन्सर्टमा गएँ, म १४ वर्षको थिएँ, हुन सक्छ यो अझै पनि एउटा महत्त्वपूर्ण कुरा हो, जुन त्यस उमेरमा मेरो दिमागबाट हटाइएको थिएन, म भन्छु कि म धेरै भाग्यशाली थिएँ। म सोध्दै छु यदि एक व्यक्ति आफ्नो जीवनभन्दा बढी मूल्यवान छ।’

‘बिदाइ, सुन्दरी केटी, बत्तीहरूमा सुत्नुहोस्, समुन्द्रलाई बिदाइ गर्नुहोस्, समुद्रलाई बिदाइ दिनुहोस् र अरु सबै जीवनलाई नमस्कार भन्नुहोस्। तपाईले दिनसक्ने दिइसक्नुभएको छ’ सामाजिक सञ्जालमा एक इरानी किसान करीम लेख्छन्। हेलेनको मृत्युपछि टर्कीको मानवाधिकार आयोगले सरकारी रवैयाको विरोधमा ब्यापक आवाज उठाएको छ भने अन्तर्राष्ट्रिय अधिकारवादीहरुले गहिरो चासो र चिन्ता व्यक्त गरेका छन्।

(गौतम प्रवासी एकता मञ्च डेनमार्कका अध्यक्ष हुन्।)