काठकाडौं, २७ चैत। विदेशबाट हालसम्म घर फर्किएका सबैको स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन) मा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएका छन्। यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए । उनले भने, ‘घर फर्केका सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको छ, उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन्।’ कोरोना भाइरस (कोभिड–१९)को जोखिम हुन नदिन यहाँका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएका हुन् । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण संकलन गर्न चैत दोस्रो साता पत्राचार गरेपछि पहिचान गर्न थालिएको हो । ‘कोराना भाइरसको जोखिम बढ्दै गएपछि चैत महिनामा विदेशबाट अधिकांश घर फर्किएको पाइएको छ’ प्रमुख डा.झाले भने।
यसअघि मण्डनदेउपुर नगरपालिकामा विदेशबाट फर्किएका ८ जनालाई क्वारेन्टाइनमा राखिएकोमा सातलाई १४ दिनका बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको नगर उपप्रमुख निर्मला शाहीले जानकारी दिइन् । ‘बाँकी एक पुरुषको आज वा भोलि स्वास्थ्य जाँच गरी घर फर्काइनेछ’ उनले भनिन् । यसपछि यहाँका सबै क्वारेन्टाइन खाली हुनेछ । यसैबीच, स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । ती मध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । काभ्रेपलाञ्चोकमा ६ नपा र ७ गाउँपालिका छन्।
धुलिखेल अस्पतालमा ८ र बनेपास्थित शीर मेमारियल अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष व्यवस्थित गरिएको छ । धुलिखेलमा हालसम्म ओइसोलेसनमा राखी कोरोना भाइरस परीक्षण गरिएका १७ सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । विदेशबाट फर्किएर सम्पर्कमा आएकाको हालसम्मको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको हो भने भारतपछि दुबईबाट फर्कनेको संख्या अधिक रहेको देखिन्छ ।-रासस



लोकपाटी न्यूज

