सरस्वती क्याम्पसमा अनलाइन कक्षा सञ्चालन

SMC Online class
लोकपाटी न्यूज

काठमाडौं, २७ चैत। कोरोना भाइरस (कोभिड–१९) को भयावहका कारण मुलुक लकडाउनमा परेपछि त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले अनलाइन माध्यमबाट कक्षा सञ्चालन सुरु गरेको छ। स्नातकोत्तर तहका कार्यक्रमहरु एमबीएम्, समाजशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजी, नेपाली विषयका पठनपाठन अनलाइन प्रविधिबाट सुरु गरिएको क्याम्पस प्रमूख डा.गोलमान गुरुङले बताए।

जूम क्लाउड एप (Zoom Cloud App) प्रविधिबाट कक्षा सञ्चालन हुँदा प्राध्यापक तथा विद्यार्थीहरु अत्यन्तै उत्साहित भएका छन्। एम्बीएम्को कक्षा बिहान तथा स्नातकोत्तर तहका अन्य कक्षाहरु सन्ध्याकालीन समयमा सञ्चालन हुने डा.गुरुङले बताए। यसैबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले कोभिड–१९ द्वारा सृजित परिस्थितिप्रति सबैमा हार्दिक अपिल गर्दै स्थगन गरिएको पठनपाठन डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा सम्भव भएसम्म तुरुन्तै वैकल्पिक शिक्षण विधि अनलाइनबाट शुरु गर्न अनुरोध गरेका थिए।

अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, प्राध्यापकहरूलाई चाहिने अभिमुखीकरण तालिम, सहज तथा द्रुत इन्टरनेट उपलब्धताको लागि विश्वविद्यालयले स्रोतको खोजी गरिरहेको उपकुलपति बास्कोटाले बताए। त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट पठनपाठन गर्न आवश्यक पर्ने नीतिगत निर्णयका लागि प्रक्रियागत रुपमा अगाडि बढाइसकेको छ। अनलाइन माध्यमबाट पठनपाठन गर्न असम्भव भएका वा पूर्वाधार नपुगेका वा प्रयोगात्मक कक्षाहरू पठनपाठन शुरु हुने वित्तिकै अतिरिक्त कक्षा सञ्चालन गरी पूर्णता दिने तथा स्थगन गरिएका परीक्षाहरू लकडाउनको अन्तपछि सहज वातावरण सिर्जना भएपछि क्रमशः नयाँ परीक्षा तालिका बनाई सञ्चालन गर्ने उपकुलपति बास्कोटाको अपिलमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्