स्याङ्जा, २७ चैत । आँधीखोला गाउँपालीकाले ज्याला, मजदुरी गर्ने ,बिपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति र परिवारलाई बुधबारदेखि राहत स्वरुप खाद्य सामग्री वितरण सुरु गरेको छ। वडा नम्बरं १ र ३ मा बुधबार र बाँकी वडामा आज र भोली राहत वितरण गर्न लागेको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए।
कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै सरकारले गरेको लकडाउनका कारण उनीहरु भोकै बस्न नपरोस् भन्दै राहत वितरण गर्न लागिएको हो। विभिन्न वडाहरुबाट प्राप्त विवरणको आधारमा सोमबार र मंगलबार आवश्यक तयारी सकेर बुधबारबाट राहत वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ। राहत वितरण प्रत्येक सुरु गरिएको छ।
आँधीखोला गाउँपलिकाको कार्यपालिका बैठकले अहिलेलाई दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १.५ किलो दाल, १ प्याकेट नून, साबुन दुईवटा, चिनी १ किलो र तेल १ लिटर वितरण गर्ने निर्णय गरेको छ। त्यसैगरी तीन र तीनभन्दा माथिका परिवार संख्या भएकालाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्न निर्णय भएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
गाउँपालीकाले वडा वडाबाट प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करिब ६ सय २७ हुने गाउँपालिकाले जनाएको छ। यसैगरी आँधीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण र रोकथाम गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न एनआईसी एसिया बैंकमा विपत व्यवस्थापन कोषको स्थापना गरेको छ। खाता नं २३४२०५००२७७६८००२ रकम जम्मा गरी सहयोग गर्न चाहनु हुनेलाई आँधीखोला गाउँपालिकामा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।



लोकपाटी न्यूज

