काठमाडौं, २६ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याएका छन्। बुधबार मन्त्रालयमा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदको संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरस (कोभिड-१९) को उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्रीको अभाव झेल्नु नपर्ने बताए।
आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको भन्दै कतिपय सामग्रीहरू निरन्तर पुर्याइने बताए। सुदुरपश्चिम प्रदेशको संवेदनशीलतालाई सरकारले बुझेको भन्दै उनले कोभिड-१९को नमूना परीक्षणको काम दोब्बर बनाउनका लागि बुधबारमात्रै हेलिकप्टरमार्फत् पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए। मन्त्री ढकालले नागरिकको तर्फबाट समेत सकारात्मक सहयोगको निम्ति भूमिका निर्वाह गरिदिन सांसदत्रयलाई अनुरोध गरे।
सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाममा भैरहेको काम थप प्रभावकारी बनाउने विषयमा आफ्नो भनाइ राख्दै बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले नागरिकहरू अहिले पनि सीमावारपार गरिरहेको भन्दै चिन्ता प्रकट गरे। उनीहरूले अहिले सरकारले गरेको प्रयास प्रशंसनीय रहेको र शंकित सम्भावितहरूको नमूना परीक्षणको दर बनाउनुपर्ने बताए।



लोकपाटी न्यूज

