विराटनगर, २६ चैत । प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ। प्रदेश १ का २ सय ५४ स्थानमा कूल ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड तयार गरेको छ ।
होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । बुधबार ३३ क्वारेन्टाइन बेड थपिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार आइसोलेसन बेडको संख्या ४ सय ३२ छ। आइसोलेसनमा बेडमा बस्नेको संख्या १० छ। आइसोलेसनबाट ८ महिला र १४ पुरुष डिस्चार्ज भएका छन् । क्वारेन्टाइनबाट ३२ जना डिस्चार्ज भएका छन्।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा निर्माण गरिएका आइसोलेसन स्थलको मापदण्डमा समेत प्रदेश सरकारले कडाई गर्न सुरु गरेको छ। सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ। तोकिएको मापदण्ड पूरा गर्न सरकारले कडाई थालेको हो। सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएका ९ वटा आइसोलेसन मापदण्ड बमोजिम नभएको पाइएपछि घटाएको हो।
स्थानीय रुपमा स्थानीय तहहरुमा निर्माण भएको आइसोलेसन स्थल र बेडको विषयमा सरकारले चासो लिएको मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सूचना डेस्कले जनाएको छ। प्रदेश १ मा हालसम्म १ सय ४५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ३ जनाको रिर्पोट नेगोटिभ आएको छ। स्वाब परीक्षण गर्न स्वाब पठाइएकामा २९ महिला र १ सय १६ पुरुष थिए। ३० महिला र १ सय ३ जनाको पुरुषको रिर्पोट नेगेटिभ आएको हो।



लोकपाटी न्यूज

