विपतको समयमा सेवामा नजाने ५ चिकित्सकलाई जागिरबाट हटाइयो

doctor in apron
लोकपाटी न्यूज

अस्मिना पाण्डे/ बुटवल, २६ चैत। बिरामी हुँदा अस्पताल गए बाँचिन्छ कि हामी सबै नागरिकको चाहाना हुन्छ र पुगिन्छ अस्पताल। कतिपय बिरामी त डाक्टरको सल्लाह सुझाव र आश्वासनले पनि आफूलाई आराम हुने बताउछन्। बिपत्ति नाआओस् तर आइहाले पनि डाक्टर सुरक्षित रहेर बिरामीको सेवामा लाग्नु पर्ने हो र पर्छ पनि। तर त्यसो हुन सकेन।

विश्व कोरोना भाइरससँग जुधिरहेको छ।नेपालमा पनि यो भाइरससँग लड्नका निम्ति देश लकडाउन गरिएको छ। यहिबेला बिना जानकारी अस्पताल नआउने डाक्टरलाई भने प्रदेश ५ सरकारले कारबाही गरेको छ। प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई कारबाही प्रकृया सुरु गरेको हो। मन्त्रालयले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालबाट कारबाहीको सुरु गरेको छ।

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारबाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाइएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले जनाएको छ। लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले भने बिना सूचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारबाही स्वरुप सेवाबाट हटाइएको जानकारी दिए।

खनालले रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको बताए। उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिइ सेवामा अनुपस्थित भएका कारण हटाइएको डा. खनालले बताए । हटाइएका चिकित्सकहरु करारमा नियुक्त हुन्।

प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा सुत्केरी विदा, काज क्रिया बिदा र बिरामी बिदा वाहेकका बिदा स्वीकृत नगर्न र बिना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएका थिए।

कोरोना भाइरसको संकटको समयमा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारबाही गरिने मन्त्री बरालले बताए। मन्त्रालयले प्रदेशसमा रहेका सबै अस्पतालहरुको दैनिक हाजिरी बिवरण माग गरेको र अस्पताल हाजिर नभएकाहरुलाई स्पष्टिकरण सोधेर हटाउने सम्मको कारबाही थालेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्