पोखरा, २६ चैत। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारलाई पोखरा महानगरपालिकाले राहत वितरण सुरु गरेको छ। महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय ४० परिवारलाई राहत वितरणको व्यवस्था मिलाएको हो। यही १९ चैतमा बसेको ३७ औँ नगर कार्यपालिका बैठकले राहत विरणका लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोहीअनुसार लाभग्राही छनोट गरी राहत वितरण गर्न सुरु गरिएको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए। उनका अनुसार ३३ वटै वडाबाट लाभग्राही छनोट गरी वडा कार्यालयहरुमार्फत् राहत वितरणको व्यवस्था मिलाइएको छ।
लाभग्राही छनोट मापदण्डानुसार कुनै पनि आयको स्रोत नभएका, दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने परिवार तथा अन्य कसैबाट पनि उचित स्याहार सुसार नपाएका, ९वृद्ध, असहाय, अशक्त, गर्भवती महिला, दीर्घरोगी, टुहुरा बालबालिका र फरक क्षमता भएका व्यक्ति० लाई लाभग्राहीका रूपमा छनोट गरिएको छ।त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका, लकडाउनका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी, धार्मिकस्थलमा भेटीरचन्दा सङ्कलन गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई लाभग्राहीको रूपमा छनोट गरिने मापदण्ड महानगरले बनाएको छ।
महानगरले चार वा सोभन्दा बढी सङ्ख्याका परिवारलाई पूरा प्याकेज र तीन जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराउने छ। पूरा प्याकेजमा २५ केजी चामल, १ केजी नुन, १ लिटर तेल, २ केजी रातो दाल, १ केजी कालो दाल, केराउ र चना १÷१ केजी रहेको छ भने आधा प्याकेजमा साढे १२ केजी चामल, एक केजी नुन, आधा लिटर तेल, रातो दाल १ केजी, कालो दाल आधा केजी र चना आधा केजी रहेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए। पौडेलका अनुसार ११ हजार परिवारलाई पूरा र ८ हजार ४ सय ४० परिवारलाई आधा प्याकेज राहत वितरण गरिने छ । राहत वितरणका लागि पूरा र आधा प्याकेजको छुट्टाछुट्टै कुपन बनाएर वडामा पठाइएको छ।
पोखरा उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी, लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्बर अफ कमर्शको समन्वयमा पोखराका विभिन्न खाद्य सप्लायर्सहरुले राहत सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको पौडेलले बताए।



लोकपाटी न्यूज