भरतपुर, २६ चैत। भरतपुर अस्पतालको ५७औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्र्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ। सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण फरक ढङ्गले वार्षिकोत्सव मनाइएको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरिने बताए। अस्पतालमा कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीको उचित व्यवस्थापन गरिने उनले बताए।
केन्द्रीय अस्पताल भएकाले यस क्षेत्रको स्वास्थ्य संस्थाको अभिभावकत्व ग्र्रहण गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने कार्यमा कटिबद्ध हुने बताए। सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले गत सात महिनामा बहिरङ्ग सेवामा दुई लाख २० हजार बिरामीलाई सेवा दिइएको, आकस्मिक कक्षमा ३० हजार ८ सय ३३ को उपचार गरिएको र २ हजार २ सय ५१ जनाले भर्ना भएर सेवा लिएको बताए।देशैभरका बिरामी आउने गरेको भए पनि चितवनसहित १९ जिल्लाका बिरामीको सङ्ख्या धेरै रहेको उनको भनाइ थियो।
तिवारीले गुरुयोजनाअनुसार काम गर्नुपर्ने, स्रोतसाधनको उचित व्यवस्थापन गर्नुपर्ने, करार, अस्थायी कर्मचारीको व्यवस्थापन गनुपर्ने, विशेषज्ञ सेवाका लागि छुट्टाछुट्टै भवन बनाउनुपर्ने जिम्मेवारी आफूहरुसँग रहेको जानकारी दिए। उनले अस्पतालका भवनको रङरोगन यसै वर्ष गर्ने योजना रहेको बताए।अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विसं २०१३ मा सामान्य स्वास्थ्य केन्द्रबाट सुरु भएको अस्पताल केन्द्रीय अस्पतालसम्म आइपुगेको हो।



लोकपाटी न्यूज