काठमाडौं, २६ चैत। सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्धलाई बैशाख १८ गतेसम्म लम्ब्याएको छ। यसअघि सरकारले बैशाख ३ गतेसम्मका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो।
बैठकपछि समन्वय समितिका सदस्य सचिव नारायण विडारीले अन्तर्राष्ट्रिय उडानलाई बैशाख १८ गतेसम्मका लागि स्थागित गरिए पनि आन्तरिक उडानको विषयमा केही दिनमा निर्णय आउने जानकारी दिए । उनले भने, आन्तरिक उडानको विषय विचाराधीन छ । केही दिनमा टुङ्गो लाग्ने छ। उनले बैठकमा कोभिड-१९ सङ्क्रमणबाट जनजीवन र नेपाली अर्थतन्त्रमा पारेको असरबारे राष्ट्रिय योजना आयोगले ‘इम्प्याक्ट स्टडी’ गर्ने निर्णयसमेत भएको जानकारी दिए। बैठकमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको समीक्षासमेत भएको थियो।



लोकपाटी न्यूज