काठमाडौं, २५ चैत्र। कोरोना भाइरस (कोभिड–१९) का कारण मंगलबार बिहान ८ बजेसम्म विश्वभरि ७४ हजार ६ सय ९७ नागरिकको मृत्यु भइसकेको छ। झण्डै साढे १३ लाख नागरिक कोरोनाको संक्रमणबाट आक्रान्त छन्।
चीनको बुहाइबाट सुरु भएको कोरोना संक्रमण हाल यूरोप र अमेरिकन देशहरुमा व्यापक मात्रामा फैलिँदै गएको छ। कोरोनाबाट अमेरिकामा मात्रै ३ लाख ६७ हजार नागरिक संक्रमित भएका छन्। कोरोनाबाट स्पेन, इटाली, फ्रान्स लगायतका देशहरु पनि उच्च संक्रमणमा परेका छन्। यी देशहरुमा संक्रमण र मृत्यु हुनेको दर एकपछि अर्को बढ्दै गएको छ।
विश्वभरि महामारी फैलिँँदा पनि दक्षिण एसिया भने कोरोना संक्रमणमा सापेक्षित रुपमा शान्त देखिएको छ। पछिल्लो २ हाता दक्षिण एसियाका प्रायः सबै देशहरुले लकडाउनको घोषणा गरेका छन्। दक्षिण एसियामा कोरोनाको संक्रमण क्रमशः बढ्न थालेको देखिए पनि महामारीको अवस्था भने देखिएको छैन।
दक्षिण एसियामा कोरोनाबाट बढी संक्रमित हुने मुलूकमा भारत परेको छ। भारतमा हालसम्म ४ हजार ७ सय ७८ जना संक्रमित भएका छन्। कोरोनाबाट हालसम्म भारतमा १ सय ३६ जनाको ज्यान गइसकेको छ। कोरोनाबाट संक्रमित भएका ३ सय ७५ जना नागरिक उपचारपछि घर फर्किएको सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतपछि बढी संक्रमित हुने मुलूकमा पाकिस्तान देखिएको छ। हालसम्म पाकिस्तानमा ३ हजार ७ सय ६६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५३ जनाको ज्यान गएको छ भने २५९ जना नागरिक उपचारपछि घर फर्र्किएका छन्। पछिल्लो साता पाकिस्तानमा संक्रमण बिस्तार हुँदै गएको देखिएको छ।
दक्षिण एसियाली मुलूक अफगास्तिानमा कोरोनाबाट ३ सय ६७ जना नागरिक संक्रमित भएका छन्। संक्रमितमध्ये ११ जना अफगानी नागरिकको मृत्यु भइसकेको छ। संक्रमित भएकामध्ये १८ जना उपचारपछि पूर्ण निको भएर घर फर्किएको जनाइएको छ।
श्रीलंकामा हालसम्म १ सय ७८ जनामा कोरोना भाइरसको पोजिटिभ संक्रमण देखिएको छ। संक्रमितमध्ये ५ जना श्रीलंकाली नागरिकको मृत्यु भएको र ३८ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका छन्। उच्च सावधानीका रण श्रीलंकामा संक्रमितको संख्या खासै बढेको छैन।
दक्षिण एसियाली मुलूक बंगलादेशमा १ सय २३ जना व्यक्तिमा कोरोना संक्रमण भएको छ। संक्रमण भएकामध्ये १२ जनाको ज्यान गएको सञ्चार माध्यमहरुले जनाएका छन्। हालसम्म बंगलादेशमा संक्रमितमध्ये ३३ जना मानिस पूर्ण निको भएर घर फर्किएका छन्।
माल्दिभ्समा हालसम्म १९ जनामा कोरोना संक्रमित भएको छ। संक्रमितमध्ये कसैको पनि मृत्यु नभएको र निको पनि नभएको सञ्चार माध्यमहरुले जनाएका छन्।
दक्षिण एसियाली मुलूक भुटानमा कोरोना संक्रमणबाट ५ जना नागरिक संक्रमित भएका छन्। दक्षिण एसियाली मुलूकमध्ये कोरोनाबाट सबैभन्दा कम संक्रमित मुलूकमा भुटान देखिएको छ। संक्रमितमध्ये हालसम्म कसैको पनि मृत्यु भएको छैन।
नेपालमा हालसम्म ९ जना नागरिकमा कोरोनाको संक्रमण देखिएको छ। माघ १० गते पहिलोपटक कोरोनाको संक्रमण देखिएका युवा हाल निको भएका छन्। तर, पछिल्लो समयमा संक्रमित भएका ८ जना नेपाली अहिले विभिन्न अस्पतालहरुमा उपचाररत छन्।
नेपालभित्रै कोरोनाका कारण कुनै नेपालीको मृत्यु नभए पनि हालसम्म ६ जना नेपालीहरुको विदेशमा मृत्यु भएको छ। कोरोनाका कारण हालसम्म अमेरिकामा ४ जना र बेलायतमा २ जना नागरिकको ज्यान गएको छ। अमेरिका, खाडी मुलूक र यूरोपियन मुलूकमा गरी झण्डै १००० जना नेपाली संक्रमित छन्।



लोकपाटी न्यूज

