काठमाडौं, २४ चैत। सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ। गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
नेपालमा कोरोना भाइरसका दोस्रो संक्रमित देखिएपछि शुरु गरिएको लकडाउनको पहिलो चरण चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि सकिदैछ। दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो।
आइतबार बसेको उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो। सो बैठकमा लकडाउनको समयावधि अब एक साता थप्नुपर्ने विषयमा कुराकानी भएको थियो। त्यस्तै स्वास्थ्य विज्ञहरुले पनि लकडाउन एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन्।
आज यसबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ। भारतमा लकडाउन नखुल्दासम्म नेपालमा लकडाउन कायम राख्ने सरकारी रणनिती रहेका बताइन्छ। छिमेकी देश भारतमा २१ दिने लकडाउन गरिएको छ।



लोकपाटी न्यूज

