सल्यान, २३ चैत। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको बताएका छन्।
सल्यानको सदरमुकाम खलङ्गामा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री रावलले कोरना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिए।
‘प्रदेश सरकारले जहाँ कोरोनाको सङ्क्रमण देखिन्छ त्यही ठाउँलाई लकडाउन गरेर उपचार गर्नका लागि एम्बुलेन्स जाने स्थानमा एम्बुलेन्स र जान नसक्ने ठाउँमा हेलिकप्टरमार्फत विशेषज्ञसहितको टोली पठाएर उपचार गर्ने व्यवस्था मिलाएका छौँ,’ मन्त्री रावलले भने। प्रदेश सरकारले १० जिल्लाका अस्पतालको स्तरोन्नतिका लागि ५०/ ५० लाख उपलब्ध गराएको जानकारी दिए। ‘हामीले कारोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री सबै अस्पतालमा पठाइसकेका छौँ, अब आवश्यकता र मागका आधारमा सबै पालिकामा उपलब्ध गराउने योजना छ,’ मन्त्री रावलले भने।



लोकपाटी न्यूज

