काठमाडौं, २३ चैत। कोरोना रोकथाम गर्न र जनतालाई आस्वस्त पार्ने काममा सरकार असफल भएको नेत्रविक्रम चन्द (विप्लव)ले आरोप लगाएको छ। शनिबार एक बक्तव्य जारी गदै प्रकोप रोकथामका लागि सरोकारवाला सबैसँग सहकार्यका लागि तत्पर रहेको पनि उल्लेख गरेका छन।
यस महामारीसँग जुध्नका लागि उनले सरकारलाई १६ बुँदे सुझाव दिदै आफ्नो पार्टीले गर्ने ६ बुँदे कार्यसूची प्रस्तुत गरेका छन्। ‘नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौं नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको छ,’ उनको आरोप छ।
जारी बक्तव्यामा कोरोना भाइरसको महामारीसंग जुध्न सबैसंग सरकार्य गर्न आफ्नो पार्टी तयार रहेको पनि बताएका छन । ‘पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको संघर्षमा सहभागी बनिरहेका छन्। आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पुर्याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ।’
कोरोना संक्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भ्रष्टाचार व्याप्त रहेको भन्दै सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोरको कार्यक्रम पनि जारी रहने उनले बक्तव्यमा उल्लेख गरेका छन ।



लोकपाटी न्यूज