काठमाडौं, २२ चैत। नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट पाँचौ संक्रमित हुन् बागलुङकी अंशु सापकोटा। कतार एयरवेजको विमानमा सवार काठमाडौंकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार बागलुङकी ती युवतीलाई पनि सामान्य ज्वरो समेत देखिएको थियो।
गएको चैत १२ गते स्वाब परीक्षणका लागि नमूना संकलन गर्दा १९ वर्षीय सापकोटालाई कोरोना पुष्टि भएको थियो।हाल धौलागिरी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको छ। आफ्नो अवस्था सामान्य रहेको र कुनै समस्या नभएको उनले बताएकी छिन्। कोरोना संक्रमित अंशुले अस्पतालको बेडबाट आफ्नो बयान यसरी दिएकी छिन्।
‘जिन्दगीको यात्रामा सबै सोंचे जस्तो हुन्नँ रहेछ। मेरो जीवनमा पनि एक्कासी नसोचेको कुरा भयो। मेरो सामान्य जीवनयापनमा एक्कासी कोरोना संक्रमणले झट्का दियो। फेरि पनि परिस्थितिसँग जुध्नु त थियो नै। मैले आफूलाई सम्हालेँ र, थप उपचारको लागि तयार भएँ। मोबाइलमा हेर्दा देखेँ, सामाजिक सञ्जालदेखि विभिन्न समाचारमा मेरोबारे निकै नराम्रो टिकाटिप्पणी गरिएको रहेछ। बाग्लुङ नगरपालिकाका प्रमूख जनकराज पौडेलले मैले शुरूदेखि नै उपचार गर्न नमानेको र बजारलाई नै आतंकित बनाएको भन्दै अन्तर्वार्ता समेत दिनुभएछ।
अस्पतालको आइसोेलेसन बेडबाटै उहाँलाई मेरो प्रश्न छ (एक नगरपिताको पहिलो कर्तव्य स्वास्थ्य अवस्था बुझेर सान्त्वना दिने र आवश्यक उपचारको तयारी गर्नु हो कि हुँदै नभएको कुरा मिडियामा भन्दै हिँडेर आत्मसम्मानमा चोट पुर्याउनु हो ? सम्पूर्ण साथीहरू, इष्टमित्र आफन्त सबैलाई म भन्न चाहन्छु, परीक्षण हुँदासम्म मलाई कोरोना संक्रमणको केही संकेत देखा परेको थिएन। अहिले आइसोलेसनमा बस्दा पनि त्यस्तो अनुभव भएको छैन। एकदम सामान्य छु म। तर, यो रोग आफ्नो गल्ती नहुँदा पनि शिकार हुने र सबैबाट टाढा बनाउने खालको रहेछ। एउटा कोठाभित्र बसेर मैले बेग्लै अनुभव संगालेकी छु। मोबाइलबाट विश्व नियालिरहेकी छु।
डर पनि लाग्छ अरुको कारणले मलाई संक्रमण देखियो फेरि कतै मेरो कारणले अरुमा पनि देखिन्छ कि भनेर। सरकारले बाहिरबाट आएकालाई तत्कालै क्वारेन्टाइनमा राख्ने प्रबन्ध गरेको भए थप समस्या आउँदैन थियो होला। कसले पो सामान्य अवस्थामा रोगको शिकार भएको कल्पना गर्छ र ? म पनि नजानिँदो तरिकाबाट संक्रमणको शिकार बनेँ। मैले मास्क, स्यानिटाइजरको प्रयोग गरिरहन्थेँ। सक्दो सतर्कता अपनाएकी पनि थिएँ। बाहिर भनिए जस्तो लापरवाही गर्दै हिँडेकीे पनि थिइनँ। मलाई पोजिटिभ देखिए पनि अहिले मेरो परिवारका अन्य चार सदस्यमा कोरोना भाइरसको संक्रमण नेगेटिभ आएको छ। अब अरुको पनि नेगेटिभ आओस्।
कोरोनाको संक्रमण देखिने बित्तिकै सामाजिक बहिष्कार जस्तो गरेर मनोबल गिराउने काम नगर्नुस्। मनोबल उच्च बनाउन जहाँबाट जे सक्नु हुन्छ त्यो गर्नुस्। मलाई मेरो नाम र फोटो गोप्य राख्नुपर्छ भन्ने लाग्दैन। मैले के अपराध गरेको छु र लुकाउनु पर्ने ? मेरो बारे चिन्ता राख्ने सबै शुभचिन्तकप्रति आइलोसन बेडबाटै कृतज्ञता व्यक्त गर्छु। अब अर्को रिजल्ट कुरेकी छु। आशा छ, त्यो रिजल्ट नेगेटिभ आउने छ र म सामान्य जीवनमा फर्किएर फेरि आफ्नो संसारमा रमाउने छु। यो विषम परिस्थितिमा यहाँहरू सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन अनुरोध गर्छु।’



लोकपाटी न्यूज

